
देखिएन ओलीको सुशासन र पारदर्शिता
काठमाडौ–सुशासन, सम्बृद्धि र पारदर्शिता एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका नारा हुन् । चुनावी घोषाणापत्रदेखि हरेक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले यिनै शब्दको दोहोर्याइरहन्छन् । तर, व्यवहार भने त्यसअनुरुप भएको पाइँदैन ।
यसको गतिलो उदाहरण बनेको छ, मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न भएको ढिलाई । ओली नेतृत्वको सरकारका अधिकांश मन्त्रीहरुले दुई महिना बित्न लाग्दा समेत आफ्नो सम्पत्ति विवरण बुझाउन चासो देखाएका छैनन् । यो ढिलाईले सम्बृद्धि, सुशासन र पारदर्शिताको आफैंले खिल्ली उडाइरहेका त छैनन् भन्ने प्रश्न गर्ने अवस्था सिर्जना भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीहरुले पदमा नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयलाई बुझाउनुपर्ने प्रावधान छ । तर, एकाध मन्त्रीबाहेक यो प्रावधानलाई सरकारका मन्त्रीहरुले खासै ध्यान दिएको पाइएको छैन ।