| शनिबार, बैशाख ८, २०८१

कांग्रेस संस्थापन पक्ष रामचन्द्रप्रति अाक्रामक

कांग्रेस संस्थापन पक्ष रामचन्द्रप्रति अाक्रामक

काठमाडौं : चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गुटअनुसार पक्ष–विपक्षमा आरोप–प्रत्यारोप जारी छ। रामचन्द्र पौडेल समूहका नेताहरू चर्को आलोचनामा उत्रिएपछि सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आक्रामक रूपमा प्रतिवाद गरेका हुन्।

बुधबारको बैठकमा देउवा पक्षधर नेताहरूले रामचन्द्र पौडेलले केही समयअघि पेस गरेको चारपन्ने आरोप र मंगलबार युवा नेताहरूले पेस गरेको प्रस्तावका बुँदामाथि आपत्ति जनाए। नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलले पेस गरेको प्रस्तावको भाषा उनको राजनीतिक उचाइसुहाउँदो नभएको टिप्पणी गरे। चारपन्ने आरोपमा पौडेलले गुटको भरणपोषण गरेको, पैसाको राजनीति गरेको, कार्यकर्तालाई कांग्रेस जिन्दावाद होइन, शेरबहादुर जिन्दावाद भन्न सिकाएको विषय समेटेका थिए।

महेश आचार्यले चुनावमा देउवा एक्लैले टिकट नबाँढेको भन्दै परिणामको जस–अपजस सबैले लिनुपर्ने बताए। डा प्रकाशशरण महतले मंगलबारको लिखित प्रस्ताव सभापतिलाई मात्र दोषी देखाउने गरी आएको भन्दै आपत्ति जनाए। पौडेल, प्रकाशमान सिंह र गगन थापालगायतले दोष मात्रै थुपारेको, तर सही बाटो देखाउन नसकेको उनको टिप्पणी थियो। शंकर भण्डारीले पार्टीका संरचना र निकायलाई अब विधानतः सभापतिले चाँडै पूर्णता दिनुपर्ने बताए। उनले सभापतिलाई मात्रै लखेटेर पार्टी राम्रो नबन्ने धारणा राखे। नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्