| आइतवार, अशोज ४, २०७७

ओली

गगनलाई ओलीको जवाफ– संविधान संशोधन गर्न सकिनँ माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्न !

 प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापालाई जवाफ दिएका छन् ।  अघिल्लो सरकारजस्तो निरीह यो सरकार नरहेको बताउँदै  उनले थापालाई प्रश्न गरे, “संविधान संशोधन गर्न सकिनँ माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्न ?”

थापाले सोमबार व्यवस्थापिका संसदमा बोल्दै अरूलाई लम्पसारवादी भन्ने केपी ओली आफैँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु लम्पसार परेको भन्दै कटाक्ष गरेका थिए ।
मंगलबार युवा संघको २८ औँ स्थापना दिवसका दिन आयोजित कार्यक्रम उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले थापालाई भने, “युवा छन्, केही गर्लान् भनेको दिमागमा त विरोधमात्रै रहेछ !”

उनले एमाले भारत विरुद्ध उफ्रिइरहोस् र त्यसको फाइदा आफूमात्रै लिइराख्न पाउँ भन्नेलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले टाउको दुःखेको बताए ।“ हामी भारतको विरोधी होइनौँ । नेपालको हित चाहन्छौँ, मोदीको आगमनले द्विपक्षीय सम्बन्ध सुधार भएको छ । उहाँको वक्तव्यबाट पनि त्यो प्रष्ट हुन्छ” उनको स्पष्टोक्ति थियो । उनले नेपालको हित विरुद्ध एक शब्द पनि कतै लेखेको बोलेको भेट्टाए प्रमाण ल्याउन चुनौतीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्