| शुक्रबार, चैत्र १६, २०८०

गोरखा रेडक्रसको ९६ लाखको भबनको शिलान्यास

गोरखा रेडक्रसको ९६ लाखको भबनको शिलान्यास

दरौँदी ः नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको भवनको शिलान्यास गरिएको छ । बुधबार
नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष सञ्जीव थापाले कार्यक्रमका वीच भवनको शिलान्यास गरे । अक्षय तृतीय तिथिको अवसर पारेर भवनको शिलान्यास गरिएको रेडक्रस गोरखाले जनाएको छ ।
जर्मन, बेल्जियम र नेदरल्याण्ड रेडक्रसको आर्थिक सहयोगमा कूल ९६ लाख लागतमा भवन निर्माण हुन लागेको हो । भवन शिलान्यास कार्यक्रममा सोसाईटीका उप महामन्त्री हरी प्रसाद न्यौपाने, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत , जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त लगायत सरोकारवाला निकाय हरुको सहभागिता रहेको थियो । भवन शिलान्यास पछि भएको कार्यक्रममा रेडक्रसका अध्यक्ष थापाले राज्यको संघीय संरचना अनुसार संघीय संरचनामा जाने रेडक्रसको पहिलो संस्था भएको बताए ।

राज्यका तिन तहका संरचना भएपनि रेडक्रसका चार तहमा संरचना रहने बताए । रेडक्रसका केन्द्र , प्रदेश , जिल्ला र उपशाखा गरी चार तह रहने छ । विधान संशोधन गरेर महिलाहरुका लागि कोटा छुट्याइएको छ । गोरखा जिल्लामा सञ्चालन भएका कार्यक्रमहरुबाट अन्य जिल्लाले समेत सिक्नुपर्ने बताउदै उनले एक वर्षका अवधिमा संरचना निर्माण तर्फ उल्लेख्य प्रगति भएको भन्दै जिल्ला शाखालाई कार्यक्रम प्रदान गर्न सँधै प्रयत्नशिल रहने बताए । कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दुखका सबै समयमा रेडक्रस सबैको साथी रहेको बताए । जिसस प्रमुख गुरुङले आफूले देखे सम्म रेडक्रसका कामहरु अत्यन्त राम्रो रहेको बताए । गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले गोरखा रेडक्रसको रक्तसञ्चार केन्द्र स्थापना व्यवस्थापनका लागि तत्काल तीन लाख उपलब्ध गराईने बताए । कार्यक्रम जिल्ला सभापति भगवानबाबु मास्केको अध्यक्षतामा समपन्न भएको थियो । सोसाइटीका अध्यक्ष थापाले आजै गाँखु उपशाखाको नवनिर्मित भवनको उद्घाटन समेत गरे । दातृ निकायको सहयोग र स्थानीयहरुको जनश्रममा भवन निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्