| शनिबार, बैशाख ८, २०८१

प्रदेश नं ४ः

४ नम्बर प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् ।
सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको नाम प्रस्ताव गरिएको छ । यसबाहेक धौलागिरि, शालिग्राम, कृष्णगण्डकी, वा मध्य प्रदेश राख्न समेत सरोकारवालाको सुझाव रहेको छ ।
प्रदेश नम्बर ४ का अधिकांश जिल्ला हिमाली भेगसँग जोडिएको र अग्ला हिमशृंखला यस क्षेत्रको पहिचान भएकाले हिमाल प्रदेशनै सबैको साझा नाम हुने सुझाव सरोकारवालाले दिएका छन् ।

यसैगरी, नेपालकै लामा र ठूला नदी पनि यस प्रदेशमा पर्ने भएकाले गण्डकी प्रदेश राख्न पनि सकिने उनीहरुको तर्क छ । नेपालमै पवित्र मानिएको कालीगण्डकी नदी, जहाँ शालिग्राम शिलासमेत पाइन्छ, त्यस्तै सेती गण्डकी लगायतका नदी रहेको स्थान र यसभन्दा अघि तत्कालीन माओवादीले गण्डक प्रदेशसमेत नामाकरण गरिसकेकाले गण्डक प्रदेश राख्न सकिने पनि सुझाव आएको छ ।

त्यस्तै, प्रदेश नम्बर ४ को मुख्य पर्यटकीय क्षेत्र राउण्ड अन्नपूर्णमध्येको पनि मुक्तिनाथ सबैभन्दा परिचित धार्मिकस्थल भएकाले मुक्तिक्षेत्र राख्नुपर्ने सुझावसमेत दिइएको छ ।

हिन्दूको आस्थाको धरोहरसमेत मानिएको र विश्वमै परिचित धार्मिक एवं पर्यटकीयस्थल भएकाले मुक्ति क्षेत्रको नामबाट प्रदेशको नामाकरण गर्नु उचित हुने नामसमेत आएको छ ।

यसबाहेक भगवान् विष्णुको अवतार मानिने विश्वकै ठूलो शालिग्राम शिला रहेको प्रदेश र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले शालिग्राम प्रदेश राख्दा पनि सबैको लागि साझा नाम हुने प्रस्ताव गरिएको छ । त्यस्तै, दामोदरकुण्डदेखि तराईका जिल्लासम्म पुगेको कालीगण्डकी जुन कृष्णगण्डकी नामले पनि परिचित छ, यो नाम राख्न पनि सकिने सुझाव सहभागीले दिएका छन् । उनीहरुले प्रदेश राजधानी भने पोखरामै उपयुक्त हुने सुझाव दिएका थिए ।
सुझाव संकलन कार्यक्रममा सहभागी राजनीतिक दलहरुले हिमालय, कालीगण्डकी/गण्डकी वा मुक्तिक्षेत्रलाई नै जोड दिएका छन् । नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष भक्त कुँवर, नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसाल,  नेकपा (माओवादी केन्द्र)का शंकर गिरी, नयाँ शक्तिका यामबहादुर चोचाङ्गी पुनलगायतले मुख्य गरी हिमालय, कालीगण्डकी/गण्डकी वा मुक्ति क्षेत्र राख्दा ११ वटै जिल्लाका लागि साझा नाम हुने सुझाव दिए ।
त्यस्तै, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुखले पनि जुन नाम राख्दा सबैको पहिचान झल्किन्छ र सबैले अपनत्व बोध हुन्छ त्यस्तो खालको नाम राख्नुपर्ने बताएका छन् । उनीहरुले गण्डकी, मुक्तिक्षेत्र वा हिमालय राख्दानै उपयुक्त हुने पनि बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्