अब पुनर्निर्माणलाई लिएर कोही निराश हुन नपर्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामलाई लिएर अब कोही पनि निराश हुनु नपर्ने बताएका छन्। उनले पुनर्निर्माणको काम अघि बढाउन सहज अवस्था आएकाले कोहीपनि निराश हुनु नपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कामबाट निराश नहुन पनि सबैमा आह्वान गरेका छन् उनले धराहरालगायत काठमाडौंका सम्पदाहरूको पुनर्निर्माणको कामले गति लिने विश्वास दिलाएका छन्। विनाशकारी भूकम्प गएको ३ वर्ष पुगेको अवसर पारेर अग्नावशेष अवस्थामा रहेको धराहराको फेदमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कामलाई अघि बढाउन अनुकूलता थपिएको स्पष्ट पार्नु पारेका थिए। उनले काठमाडौं महानगरपालिका लगायतका स्थानीय निकाय पुनर्निर्माणको कामलाई तीव्र ढंगले अघि बढाउन अग्रसर देखिएको पनि स्मरण गराएका थिए।
प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा सूरुवात गरेको ‘मै बनाउँछु–मेरा धराहरा’ भन्ने अभियानलाई पुनः ब्युँत्याएर धराहरालगायतका सम्पदाहरूको पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। पुनर्निर्माणको कामलाई अघि बढाउनब अब अनुकूल वातावरण बन्न गएको प्रधानमन्त्री ओलीको भनाई छ।