
डेढ करोडमा बन्यो गोरखाको महिला तथा वालवालिका सेवा केन्द्र
दरौँदी ः जिल्ला प्रहरी कार्यालयको महिला तथा वालवालिका सेवा केन्द्रको भवनको उद्घाटन गरिएको छ । हालै सम्पन्न नयाँ भवनको सोमबार एक कार्यक्रमका बीच प्रहरी अतिरिक्त महानिरिक्षक बमबहादुर भण्डारीले उद्घाटन गरेका हुन् ।
एसियाली बिकास बैकको करिब एक करोड ४९ लाखको आर्थिक सहयोगमा १५ कोठे भवनको उद्घाटन गरिएको हो । उक्त भवनमा पीडित कक्ष, कुरुवा कक्ष, बैठक कक्ष लगायतका कक्षहरु रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । यस अघि जिल्ला ट्राफिक प्रहरीको भवनको एउटा कोठाबाट सेवा दिँदै आएको केन्द्रले अब आफ्नै भवनबाट सहजरुपमा सेवा प्रदान गर्ने केन्द्रकी प्रमुख प्रहरी निरिक्षक कमला नरालले जानकारी दिईन् । नयाँ भवन बनेसँगै सेवा प्रवाहमा सहज भएको उनले बताइन् । ‘ठाउँ अभावमा एक पटकमा एउटा केश मात्र हेर्न मिल्थ्यो तर अहिले एकैपटक तिन वटा केशसम्म हेर्न मिल्छ, समयको पनि बचत भएको छ,’ उनले भनिन् ।नयाँ भवन बनेसँगै परिस्थिती अनुसार पीडितका लागी आवासिय सुविधाको व्यवस्था पनि गरिएको नरालको भनाई छ । भवन उद्घाटन पश्चात बोल्दै भण्डारीले भवन अभावका कारण प्रभावकारी सेवा दिन नसकिरहेको अवस्थामा नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुने अपेक्षा गरे ।
‘मानिसहरु विभिन्न समस्या लिएर यहाँ आएका हुन्छन्’ उनले भने ‘उनीहरुलाई ठाउँ अभावले थप समस्या नहोस भनेरै नयाँ भवन बनेको छ । अब राम्रो सेवा पाउनेमा प्रहरी विस्वस्त छ ।’ सामाजसँग आवश्यक समन्वय गरेर प्रभावकारी सेवा प्रवाह गर्न उनले केन्द्रलाई निर्देशन दिए ।