
अपराधीसँगै मिल्ने प्रहरी संगठनकै किरा हो ः खनाल
चितवन : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता रहेको बताएका छन्। बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको समते जानकारी दिए।
खनालले अपराध नियन्त्रणका लागि काम नगरी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको समेत बताए। उनले भने,’प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन। संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनुपर्छ।’ उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारबाही गरिने बताए।