भूकम्प पिडितको समस्या ‘घर बन्यो किस्ता आएन’
गोरखा ः सिरान्चोक गाउँपालिका गाँखुका सुकमानसिं गुरुङले ढुङ्गा, माटो र काठको जोडाइले चिरिच्याट्ट परेको घर निर्माण गरिरहेका छन् । निजी आवास पुनर्निर्माण गर्न पहिलो किस्ता वापत रु. ५० हजार लिएर घर निर्माण सुरु गरेका उनले तालीम प्राप्त कामदार लगाएर भूकम्पप्रतिरोधी बलियो घर बनाएका हुन् ।
‘काठको अभाव झेल्नु नपरेको भए अहिलेसम्म घर बनिसक्थ्यो’ सामुदायिक बन समूहले घर बनाउने काठ उपलब्ध नगराएको गुनासो गर्दै गुरुङले भने, ‘जेनतेन भत्किएको घरकै काठले धान्यो । नयाँ घरमा पूरानै काठ प्रयोग गर्नुपर्दा मन खिन्न भएको छ ।’ उनले अहिले सम्म पहिलो र दोस्रो किस्ता मात्रै पाएका छन् । पहिलो किस्ता पाएको चार महिना पछि मात्रै उनले दोस्रो किस्ता बुझेका हुन् । एक तले दुई कोठे घरको धुरी मार्ने बेला भइसकेको छ ।
उनले भने, ‘डिपिसी गरेपछि दोस्रो किस्ताको दावी गरेको हुँ । ईञ्जिनियरसापहरु बेलाबेला आएर हाम्रो घर बनाएको मापदण्ड अनुसार छ÷छैन हेरिराख्नुभएकै छ । तर, दोस्रो पनि ढिलो आयो । ऋण खोजेको पैसा पनि सकियो । जस्ता किन्नुछ । खेतलालाई ज्याला दिनुपर्नेछ ।’
मापदण्ड अनुसार घर बनाइरहे पनि दोस्रो, तेस्रो किस्ता लिने प्रक्रिया झन्झटिलो भएको भन्दै उनले घर बनाइरहेकाहरुलाई छिटो अनुदान रकम दिनुपर्नेमा जोड दिए ।
गण्डकी गाउँपालिका मकैसिङका गोरे गुरुङको घर पनि धुरी मार्न बाँकी छ । उनले दोस्रो किस्ता माग गरेको पनि महिना दिन बितिसकेको छ । अनुदान दिन सरकारले ढिलाइ गरेकोप्रति आक्रोशित उनले भने, ‘घर बनाऊँ पैसा दिन्छु भन्ने अनि नदिने ? ढिला गर्ने ? घर बनाएकालाई खुरुखुरु पैसा दिए सकारको के जान्छ ? आखिर पैसा दिनुनैछ भने छिटो दिनुप¥यो ।’
गोरखाका ७० हजार भूकम्पपीडित मध्ये अनुदान पाउने सूचीमा पहिलो चरणमा ६१ हजारको नाम प्रकाशित भएको थियो । तीमध्ये ५७ हजारले रु. ५० हजारका दरले रकम लगिसकेका छन् । अनुदान पाउनुअघि नै बारपाक लगायत गाउँमा पूरानै शैलीमा घर बनिसकेका थिए । ऋण खोजेर घर बनाएका ती भूकम्पपीडितले अनुदान रकम पाउने हो वा होइन भन्ने अन्यौल कायमै छ । अनुदान बुझेका अधिकांश लाभग्राहीले घर बनाउन नै ढिलो सुरु गरेकोले वितरणमा ढिलाई भएको जिल्ला समन्वय अधिकारी नारायण प्रसाद आचार्य बताउँछन् ।
लाभग्राहीको सूचीमा नाम भएपनि घर बनाउन आफ्नो नाउँमा जग्गा नभएका सुकुम्वासी, भुमिहीनले अनुदान रकम पाएका छैनन् ।