| शनिबार, बैशाख ८, २०८१

सुरेन्द्र पाण्डे

थालाजुङ वडा कार्यालय आफ्नै भवनमा, सुरेन्द्र पाण्डेले गरे उद्घाटन

दरौँदी ः सिरान्चोक गाउँपालिका वडा नम्बर २ थालाजुङले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
बिहीबा एक कार्यक्रम गरी आइएनएफ नेपालको आर्थिक सहयोगमा निर्माण भएको वडा कार्यालयको भूकम्प प्रतिरोधी पक्की भवन हस्तान्तरण गरेपछि वडाले सेवा प्रवाह सुरु गरेको हो । डेढ वर्ष लगाएर आइएनएफको सहयोगमा होम निर्माण सेवाले निर्माण गरेको उक्त अपांग मैत्री भवनको बिहीबार राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।
आइएनएफ नेपालका कार्यकारी निर्देशक गंगा सुवेदीले गाउँपालिकाका अध्यक्ष राजु गुरुङलाई र गाउँपालिकाका अध्यक्ष गुरुङले वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई नवनिर्मित भवनको साँचो हस्तान्तरण गरेपछि पाण्डेले रिबन काटेर भवनको उद्घाटन गरेका हुन् ।
५५ लाख ६८ हजार रुपैँयामा बनेको उक्त भवन बनाउन थालाजुङ सामुदायिक विकास केन्द्र यूकेले जग्गा उपलब्ध गराएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले संघियतामा गएको मुलुकमा वडा कार्यालयको आफ्नै भवन हुनु राम्रो र खुसीको कुरा भएको बताए । उनले भने ‘अब यो भवनबाट हुने सेवा सुविधा कस्तो हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’
कार्यक्रममा आइएनएफ नेपालका कार्यकारी अधिकृत सुबेदीले समग्र थालाजुङबासीले भरपुर उपयोग गर्नेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु गुरुङले सिरान्चोक गाउँपालिकाका सबैवडा भन्दा २ नम्बर वडा भौतिक हिसाबले अब्बल भएको बताए । ‘गाउँपालिका नै आफ्नो भवनमा छैन’ उनले भने ‘यहाँ वडा कार्यालयले सुविधा सम्पन्न भवन पाएको छ । नजिकै स्वास्थ्य चौकीको पक्की भवन छ ।
यसबाट थालाजुङबासीले राम्रो सेवा पाउने मेरो विश्वास छ । गाउँपालिकाकै सबै भन्दा उत्कृष्ठ वडा हुनलाई म शुभकामना दिन्छु ।’ भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख रिता देवकोटा लगायत स्थानीय राजनितिक दलका प्रतिनिधीहरुले वडा कार्यालय आफ्नै भवनमा सरेकोमा खुसी ब्यक्त गरेका थिए ।
उक्त नवनिर्मित वडा कार्यालयमा आइएनएफले करिब एक लाख रुपैँया बराबरको आवश्यक फर्निचर सामाग्रीहरु समेत सहयोग गरेको आइएनएफका समुदायमा आधारित पुर्नस्थापना अधिकृत हिरा शाहीले जानकारीले दिए ।

प्रतिक्रिया दिनुहोस्