| शुक्रबार, माघ ४, २०८१

आरुघाट गाउँपालिकाले दियो घर बनाउन ऋण

दरौँदी ः भूकम्पले भत्काएको नीजि आवास पुनर्निर्माण गर्न गोरखाको आरुघाट गाउँपालिकाले ऋण दिन सुरु गरेको छ । रकम अभावले पुनर्निर्माणको काममा ढिलाइ नहोस् भन्ने उद्देश्यले ऋण दिन सुरु गरेको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले जानकारी दिए ।
गाउँपालिकाले अहिलेसम्म २७ जनालाई ऋण दिइसकेको जनाएको छ । ‘भूकम्प पीडित सहायता घुम्ती कोष भनेर १० लाखको कोष बनाएका छौं’ दाहालले भने ‘सोही कोषबाट घर बनाउने काम थाल्न ऋण दिने गरेका छौं । घर बनाएर दोस्रो किस्ता पाएपछि त्यो पैसा फिर्ता लिन्छौं ।’ फिर्ता लिएको रकम फेरि अर्का लाभग्राहीलाई दिने गरेको उनले बताए ।
एक जनालाई बढिमा एकलाख रुपियाँसम्म ऋण दिने गरेको उनले बताए । ऋण दिनका लागि गाउँसभाले कार्यविधि बनाएको छ । ‘दलित, एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, अनाथलाई मात्र ऋण सहयोग गर्ने कार्यविधि बनाएका छौं’ गाउँपालिकाका अध्यक्ष दाहालले भने ‘पहिलो किस्ता रकम लिएर घरखर्चमा सकेकाहरुलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको हो ।’
अघिल्लो बर्षको दशैतिहार अघि पाएको पहिलो किस्ता बापतको ५० हजार रुपियाँ गोरखाका अधिकांश भूकम्प पीडितले घरखर्चमै सिध्याएका थिए ।
पैसा पनि फरक शीर्षकमा सिध्याएका र कामदार पनि नपाएका कारण नीजि आवास पुनर्निर्माणको काममा ढिलाइ भएपछि गाउँपालिकाले सहजीकरणका लागि ऋण दिन थालेको हो । ‘चिनेजानेको सम्बन्धका आधारमा हाम्रो गाउँपालिकाले दाङ जिल्लाबाट एकसय ५० जना कामदार पनि झिकाएका थियौं’ अध्यक्ष दाहाल भन्छन् ‘पनि उनीहरुको सम्बन्धका कारणमा अझै धेरै कामदार पनि पायौं । अहिले करिब करिब नीजि आवास पुननिर्माणको काम सम्पन्न हुने तयारीमा छ ।’ असार मसान्तभित्र पहिलो किस्ता पाएकाजति सबैले घर बनाइसक्ने उनले बताए ।
२०७२ सालको गोरखा भूकम्पका कारण गोरखाका ६८ हजार घर भत्किएका थिए । त्यसमध्य ६१ हजार ३९३ घरधुरीको मात्र लाभग्राही सूचीमा नाम आएको थियो । त्यसमध्य पनि ५७ हजार १८३ जनाले पहिलो किस्ता लगेका राष्टिूय पुनर्निर्माण प्राधिकरण गोरखा समन्वय इकाइ कार्यालयले जनाएको छ । ४३ हजार नौसय ११ जनाले दोस्रो र १२ हजार सातसय ८१ जनाले तेस्रो किस्ता पाइसकेका समन्वय कार्यालयका शिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्