| शनिबार, बैशाख ८, २०८१

प्रदेश ४

प्रदेश ४ ले वृद्धभत्ता नदिने, वृद्धभत्ताले देश समृद्ध हुँदैन : मन्त्री किरण गुरुङ

प्रदेश ४ को सरकारले वृद्धभत्तामा लगानी नगर्ने भएको छ । प्रदेश सभा बैठकमा प्रतिपक्षी कांग्रेसले बजेट कार्यक्रममा वृद्धभत्ताको विषय उल्लेख नभएकोमा प्रश्न गरेपछि प्रदेश सरकारले त्यसमा लगानी नगर्ने स्पष्ट पारेको हो ।

सरकारले चालू आर्थिक वर्ष ०७४/७५ को बाँकी अवधिका लागि ल्याएको बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिँदै बिहीबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सरकारले वृद्धभत्ता वितरण गर्न नसक्ने बताएका हुन् ।

बजेटमा भएको छलफलमा कांग्रेसका सांसदले वृद्धभत्ताको विषयमा केही उल्लेख नभएको भन्दै गुनासो गरेका थिए । छलफलमा कांग्रेस सांसद मनकुमारी गुरुङले वृद्धभत्तालाई चुनावी नारा बनाएर एमाले सत्तामा पुगे पनि अहिले त्यसलाई बेवास्ता गरेको भन्दै प्रश्न उठाएकी थिइन् ।

एमालेले गत स्थानीय निर्वाचनसँगै केन्द्र र प्रदेश संसद्को निर्वाचनमा वृद्धभत्तालाई आफ्नो चुनावी नारा बनाएर हाल दिँदै आएको २ हजार भत्तालाई बढाएर ५ हजार बनाउने घोषणा गरेको थियो ।

वृद्धभत्ताले देश समृद्ध हुँदैन : मन्त्री गुरुङ

एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले वृद्धभत्ता बाँडेर देशलाई समृद्ध बनाउन नसकिने संसद्मा जवाफ दिए । विदेशको उदाहरण दिँदै उनले विदेशमा १८ वर्ष पुगेपछि प्रत्येक युवायुवतीलाई कुनै न कुनै काम गर्नुपर्ने नियम रहेको छ र उनीहरूले मासिक दुई हजार तलब खाए पनि कर धेरै तिर्ने गरेको बताए ।

त्यसरी तिरेको कर विभिन्न कोषमा जम्मा हुने र सो कोषको रकम नै पछि उनीहरूको उमेर पुगेपछि भत्ताका रूपमा उनीहरूलाई फित्र्ता गर्ने व्यवस्था रहेको मन्त्री गुरुङले संसद्मा जवाफ दिए । ‘नेपालमा भने वृद्धभत्ता खानेले १ पैसा पनि राज्यकोषमा जम्मा नगर्ने अनि वृद्धभत्ता मागेर हुन्छ ?’ उनले प्रश्न गरे ।

काम पनि नगर्ने र सबैले सुती–सुती खाने हो भने ढुकुटीमा कोष कसले जम्मा गर्छ भन्दै मन्त्री गुरुङले पुनः प्रश्न गरेका गरेका थिए । उनले वृद्धभत्ता नभई सामाजिक सुरक्षाभत्ता वितरण गर्ने योजनामा प्रदेश सरकार रहेको बताए । त्यसका लागि अध्ययनको क्रममा रहेको बताए ।

उनले सबैलाई कर तिर्न आग्रह गर्दै करबाट नै विभिन्न कोषहरू स्थापना गर्न सकिने र भत्ताको व्यवस्था गर्न सकिने बताएका थिए ।

बजेटको पक्ष र विपक्षामा सांसद

बिहीबारको छलफलमा २४ जना सांसदहरूले बजेटबारे धारणा राखेका थिए । छलफलमा सहभागी सत्तापक्षका सांसदहरूले बजेटको समर्थन र विपक्षीले आलोचना गरेका थिए ।

संसद्मा उठेका प्रश्नको मन्त्री गुरुङले जवाफ दिएपछि विनियोजन विधेयक पेस गरेका थिए । विपक्षीले कार्यकर्ता पोस्ने गरी बजेटमा रकम विनियोजन गरेको आरोप लगाएका थिए ।

विनियोजित बजेट खर्चमा अन्योल

सरकारले विभिन्न कामका लागि छुट्याएको रकम कसरी खर्च गर्ने भन्नेमा अन्योल छ । समय कम भएको, कार्यविधि बनाउनुपर्ने र मन्त्रालयमा जनशक्तिसमेत कम रहेकाले छुट्याएको रकम खर्च गर्न सकिने–नसकिनेमा अन्योल रहेको मन्त्री गुरुङको भनाइ थियो । उनले बजेटमा उल्लेख गरिएका कार्यक्रमले आगामी अर्थिक वर्षका लागि जग राख्ने काम गरेको बताए

प्रतिक्रिया दिनुहोस्