| आइतवार, अशोज ११, २०७७

शहिदलखनमा सुत्केरीलाई ७८ सय

दराैँदी समाचारदाताः शहिदलखन गाउँपालिकाले सरकारले तोकेका मापदण्ड भित्र रहेर गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुलाई ७८ सय रुपैयाँ प्रोत्साहन रकम दिने गरेको छ । चार पटक गर्भ जाँच गराए बापत नेपाल सरकारले दिने आठ सय, गाउँपालिकाले दिने दुई हजार र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा सरकारले दिने दुई हजार र गाउँपालिकाले तीन हजार रुपैयाँ दिने गरेको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले बताए ।

नियमित जाँच गराउने र स्थानीय स्वस्थ्य संस्थामा उपचार हुन नसकी अन्यत्र रिफर भएकालाई पनि यो सुविधा दिइएको छ । ‘सुत्केरी प्रोत्साहन कार्यक्रम अन्र्तगत गत वर्ष गाउँपालिकाको १० लाख रुपैयाँ खर्च भएको छ’ गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी बिरेन्द्र श्रेष्ठले भने । सबैलाई स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने बुझाउन प्रोत्साहन रकम दिइएको उनले बताए । ‘पहिले भन्दा स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रम बढेको छ , अझै यो संख्या बढ्ने अनुमान गरेका छौँ’ उनले भने । शहिदलखन गाउँपालिकाको दुर्गम गाउँका कतिपय महिलाहरु घरैमा सुत्केरी हुने गरेका छन् ।

उनीहरुलाई स्वास्थ्य संस्था सम्म ल्याएर सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्यमा जोखिम कम हुने भएकाले गाउँपालिका गर्भवती, सुत्केरीको सेवालाई प्राथमिकता दिएको अध्यक्ष थापा मगरले बताए । प्रोत्साहन स्वरुप दिइएको पैसा सुत्केरी महिलालाई पोसिलो खानेकुरा खानमा खर्च गरुन भन्ने उद्देश्य राखिएको उनले बताए । दुई वर्षदेखि गाउँपालिकाले यो कार्यक्रम संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्