| शनिबार, बैशाख ८, २०८१

पहिरोको जोखिम सहेर पुरानै बस्तीमा, पहिरोको डर भन्दा थात थलोको माया बढि

शिव उप्रेतीः राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलगत अवलोकन गरेपछि पहिरोको उच्च जोखिममा रहेका धार्चे ४ लाप्राकका ६१६ घरधुरीलाई गुप्सीपाखामा स्थानान्तरण गर्ने निर्णय भयो । पुनस्थापित गर्नका लागि गुप्सीपाखाको १८.३२ हेक्टर वन क्षेत्रको जग्गा लाप्राकीलाई भोगाधिकार दिने सरकारले नीतिगत निर्णय गर्‍यो । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले त्यहाँ पाँचसय ७३ घर पनि बनाइदियो तर लाप्राकका बासिन्दा पहिरोको जोखिम सहेरै पुरानै बस्तीमा बसिरहेका छन् ।

अनुदानको जग्गा, अनुदानको घर र घर बनाउने सरकारी तीनलाख रुपैयाँ अनुदानको पर्वाह नगरी उनीहरु जोखिम ठाउँमा लाखौं खर्चेर घर बनाएर बसिरहेका छन् ।

पटक पटक गरेर करिब तीनसय घर पहिरोले लगेपछि प्रधानमन्त्री केपी शर्मा वलीले पहिरोको उच्च जोखिममा रहेको धार्चे २ केरौंजा गाउँको स्थलगत भ्रमण गरे । बचेखुचेको घरधुरीलाई पनि वरिपरि पहिरोले घेरा हालेको देखेपछि तत्काल स्थानान्तरण गर्नुपर्ने र त्यसको वातावरण आफूले मिलाउने घोषणा गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला स्तरीय विपत व्यवस्थापन समिति र स्थानीय सरकारले लामावेशीमा पुनस्थापित गर्ने निर्णय भयो । मालपोत, नापी कार्यालयका कर्मचारी गएर जग्गा कित्ताकाट गरे । लालपूर्जा पनि वितरण भयो । प्राधिकरणले जग्गा खरिदका लागि दुईलाख र घर निर्माणका लागि तीनलाख रुपैयाँका दरले अनुदानको व्यवस्था पनि गर्‍यो । तर गाउँले पहिरोको घेराभित्रै बसिरहे, सरेनन् ।

गाउँ छेउको खोलाले धमाधम घर बगाउन थालेपछि धार्चे ७ खानीगाउँका एकसय १३ घरधुरीको बिल्लीपाठ भयो । रेडक्रसले दिएको त्रिपाल टाँगेर वन छेउछाउमा जीविका चलाउन थाले । भूगर्भविदहरुको अध्ययन टोलीले त्यहाँ बसोबास गर्न नहुने ठहर गरेपछि उनीहरुलाई गोरखा नगरपालिकामा सार्ने गाउँ कार्यपालिकाले निर्णय गर्‍यो तर उनीहरु सर्न मानेनन् । अहिले उनीहरु पहिरोको सिरानमा बसिरहेका छन् ।

‘पहिरोको डर भन्दा थातथलोको माया धेरै हुँदो रहेछ’, धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ भन्छिन्, ‘जन्मे हुर्केको पुरानो थलो, मानिआएको देउदेउताको थान, चिहानडाँडो, चण्डी, भुवानी, मण्डलीको थानको बढि माया हुँदो रहेछ । पुरानो थलो छोड्नै नसक्ने रहेछन् गाउँलेहरु ।’ झरी पर्न थालेपछि भागाभाग गरेपनि जब झरी बस्छ अनि गाउँलेहरु आआफ्नै थलोमा बस्ने उनको अनुभव छ । ‘पहिरो झरेर भागाभाग हुँदा लौ हामीलाई अन्यत्रै सार्नुपर्‍यो भन्छन् । अनि जब झरी थामिन्छ, पहिरो रोकिन्छ अनि सरकारले जे निर्णय गरे पनि वास्ता नगरी आफ्नै धन्दामा भुल्छन् गाउँलेहरु’, उनले भनिन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार पहिरोको जोखिमका कारण पुनस्थापना गर्नुपर्ने घरधुरीको संख्या एकहजार दुईसय ६१ घरधुरी छन् । तर अहिलेसम्म तीनसय ६३ घरधुरी मात्र सुरक्षित ठाउँमा पुनस्थापित भएका छन् ।

लाप्राकको छसय १६, केरौंजाको चारसय १५, खानीगाउँको एकसय १३, बारपाक सुलीकोट गाउँपालिका १, २ र ३ को ५७, चुमनुब्री ३ देवलको २४, अजीरकोट ५ को ३४, आरुघाट र उहियाको एकएक घर पहिरोको जोखिममा रहेको कार्यालयको अभिलेखमा छ । केरौंजाका दुईसय ६९, देवलका १८, बारपाक सुलीकोटका २२ र अजीरकोटका ३१ घरधुरी मात्र अन्यत्र सरेका कार्यालयले जनाएको छ ।

‘गाउँ भनेको झट्ट हेर्दा देखिने घरगोठ मात्र होइन, त्यहाँको सामाजिक, सांस्कृतिक संरचना, जीविकोपार्जन पनि हो’ कार्यालय प्रमुख रामशरण आचार्य भन्छन्, ‘भौतिक संरचनाहरु घर गोठ सार्दैमा गाउँलेको मन सर्दैन । त्यहाँ लुकेको धेरै पक्षहरु हुन्छन्, जुन हामीले स्थलगत अनुगमन भ्रमण गर्दैमा गाउँलेबाट धेरै कुरा सुन्न र जान्न पायौं ।’ दिनरात पहिरोको जोखिममा बस्न सक्ने तर पुख्र्यौली थलो छोड्न नसक्ने अबस्था रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्