| शनिबार, फाल्गुन १५, २०७७

वर्षेनी बजेट बग्ने गोरखाको ग्रामिण सडकको बेहाल (फोटो, भिडियो सहित)

वर्षेनी बजेट बग्ने गोरखाका ग्रामिण सडकको बेहाल छ । केही वर्ष अघि कालोपत्रे भएका सडकमा समेत सवारी साधन सहजै आउजाउ गर्न सक्दैन । वर्षेनी नयाँ ट्रयाक खोल्ने, पुराना ट्रयाकमा मर्मतको नाममा करोडौँ बजेट खर्च गर्ने प्रवृत्तीले हरेक वर्षको बर्खामा यस्तो नियती भोग्नुपर्ने बाध्यता गोरखाबासीलाई छ ।

गोरखा नगरपालिका हुँदै बराह, आहाले, ढुङ्गागाढे जाने सडक कालोपत्रे भएको सडक हो । तर त्यहाँ अहिले साना सवारी साधन डुब्ने खाल्डो छ । पाईलैपिच्छे पिच सडक खाल्डाखुल्डी र हिलाम्य भएपछि सडक छेउछाउका सर्वसाधारण आफैँले खाल्डा पुर्न समेत थालेका छन् । कालोपत्रे भएको ढुङ्गागाढे सडकमा अहिले सवारी फस्छ । (जुट यो भिडियोमा हेर्न सकिन्छ)
गोरखा सदरमुकाम हुँदै नारेश्वर जाने सडकको हबिगत पनि उस्तै छ । उक्त सडक भएर सोमवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत आउजाउ गर्दा गाडी फसकेको थियो । गाडी हिलोमा फसेको फोटो खिचेका एक स्थानीयलाई मन्त्रीका सुरक्षागार्डले हटाउन लगाएको विषय सामाजिक सञ्जालमा आलोचित बनेको छ ।

पालुङटार नगरपालिकाको खोप्लाङ, च्याङ्ली लगायत ठाउँमा सडकमा सवारी साधन फस्ने गरेको छ । नगरपालिका भित्रका कच्ची सडकका कारण कालोपत्रे सडकमा समेत क्षती पुगेको छ ।

सदरमुकाम भित्र मात्रै होईन, भिमसेन थापा गाउँपालिकाको झिंगटे अश्राङ सडक, धावा, मसेल सडकमा गाडी गुड्न सक्ने अवस्था छैन ।
बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र जाने सडक, बारपाक सडक, सौरपानी सडकमा सहजै सवारी चल्न सक्दैन । सर्वसाधारण वडा र गाउँपालिकाको सेवा लिन जानै मुस्किल छ ।

आरुघाट गाउँपालिकाको आरपोखरी, मान्बु, थुमी लगायत ठाउँको सडकको कन्तबिजोग छ । शहिदलखन गाउँपालिकाको बुङ्कोट, मैलुङ, बक्राङ मनकामना सडकपनि हिलाम्य छ । पहिरोले ठाउँठाउँमा सडक भत्किएको, अवरुद्ध भएका छन् ।
गण्डकी गाउँपालिकाको केन्द्र जाने सडक, फुजेल, दर्बुङ लगायत ठाउँमा सडकमा गरिएको ग्राबेल बगेको छ ।

अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक सम्म सडक कालोपत्रे भएपछि त्यस बाहेकका घ्याच्चोक, वलाङ, खरिबोट लगायत ठाउँमा सडकमा यात्रा गर्न सक्ने अवस्था छैन ।

यातायात ब्यवशायीले पक्की सडक धेरै ठाउँमा कच्ची भएको, ग्राबेल गरिएको ठाउँमा पनि उप्किएको, बगाएको बताएका छन् । आईतवार यता लकडाउनले सवारी नचलेपनि केहीदिन अघि गोरखाको बिभिन्न ठाउँमा सवारी साधन फसेका फोटो भिडियो सामाजिक सञ्जालमा राखेर यातायात ब्यवशायीले गुनासो गरेका थिए ।

सिरानचोक गाउँपालिकाको छोप्राक, गोहोरे, थालाजुङ लगायत ठाउँमा कच्ची सडकमा पानी जम्ने खाल्डाखुल्डी छ । वर्षातका बेला ग्रामिण सडक हिलाम्य हुने, पानी जम्ने, पहिरो जाने भएर गाडी चल्न नसक्ने भएपनि यी सडकमा पानी जस्तै गरी वर्षेनी बजेट बगिरहेका छन् । हरेक वर्ष टालटुल पार्ने प्रवृत्तीले स्तरीय काम हुन नसकेको गुनासो सर्वसाधारणको छ ।

धार्चे र चुमनुब्री गाउँपालिकामा सहज सडक पहुँच छैन । धार्चेको केन्द्र माछाखोला सम्म नेपाली सेनाले सडकको ट्याक खोलेपनि वर्षातका कारण अहिले पहिरो बगेकाले सोतीदेखि नै पैदल हिड्नुपर्ने अवस्था छ । बारपाक हुँदै लाप्राक गुम्दा जाने सडक सवारी चल्ने हालतमा छैन । चुमुनब्री गाउँपालिकालाई सडकले छोएको छैन ।

प्रतिक्रिया दिनुहोस्