
रानीपोखरीमा साढे दुई करोड व्यर्थै खर्च
रानीपोखरी पुनर्निर्माणमा भएको साढे दुई करोड रुपैयाँ खर्च व्यर्थ भएको छ। स्थानीय बासिन्दा, पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाबीच अलिहेसम्म निर्माण गरिएको संरचना विवाद हुँदा भत्काउने निर्णय भएको हो। पुरातत्त्व विभाग र कामपाले नयाँ संरचना हटाएर रानीपोखरी पुरानै शैलीमा निर्माण गर्ने सहमति गरेपछि दुई करोड ५० लाख खर्च त्यसै खेर गएको छ।
०७२ बैशाख १२ गते भूकम्पका कारण क्षति भएको रानीपोखरी आधुनिक शैलीमा पुनर्निर्माण सुरु गरिएको थियो। ०७३ बैशाख १० देखि वर्ल्डवाइल्ड कँडेल केएन केजी जेभीले ठेक्कामा काम गरेको थियो। तर, पुरानै शैलीमा पुनर्निर्माण हुनुपर्ने भन्दै विवाद भएपछि पुरातत्तव विभाग र महानगरपालिकाबीच नयाँ संरचना निर्माण रोक्ने सहमति भएको हो। पुरानै शैलीमा रानीपोखरी पुनर्निर्माण गर्न पुरातत्त्व विभागसँग सहमति भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।