
रक्सी किन्न तीनपुस्ते बुझाउनुपर्ने !
काठमाडौं : दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ। गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण कार्ययोजनामार्फत लागूऔषध र मदिराजन्य पदार्थ नियन्त्रणमा कडाइ गर्न लागेको हो। उक्त कार्ययोजना तयार गर्न सहसचिव नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको छ।
समितिले १५ दिनभित्र आफ्नो सुझावसहितको प्रतिवेदन बुझाउनेछ। ‘अब पसलबाट दालचामल खरिद गरेझैं सहजै मदिरा खरिद गर्ने र बिक्री गर्न नपाऊन् भन्नेमा मन्त्रालयको जोड रहनेछ, अब केही समयपछि त्यसरी मदिरा किन्न र बिक्री गर्न पाइन्न,’ समितिका संयोजक शर्माले भने, ‘लागूपदार्थ र मदिराका कारण झण्डै ७० प्रतिशत अपराध हुने गरेको देखिएपछि गृहमन्त्री रामबहादुर थापाले निषेध र नियन्त्रणका लागि तादरुकता देखाउनुभएको छ।’ मदरा खरद गर्नेको तीनपुस्ते संकलन गर्ने जस्ता नयाँ व्यवस्था पनि गरिने स्रोतले बताएको छ। नागरिक दैनिकमा खबर छ ।