
गोरखा सदरमुकाममा पानीको समस्या बारे छलफल
दरौँदी ः गोरखा सदरमुकाममा पानीको समस्या हुने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । पानीको स्रोत पर्याप्त नभएको र भएका स्रोतको पनि पनि उचित सदुपयोग हुन नसकेकाले पानीको अभाव हुने गरेको सरोकारवालाहरुले गुनासो गरे । सदरमुकाममा पृथ्बीनारायण सानाशहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी वितरण गर्ने गरेको छ । सो संस्थाका अध्यक्ष विनोद अर्याल भने गोरखाबासीले पानीको स्रोतको उचित सदुपयोग गर्न नसक्दा पानीको समस्या पर्ने गरेको बताउँछन् । ‘हामी उपभोक्ताले नै पानीको उचित सदुपयोग गर्न सकेका छैनौँ’ अर्यालले भने ‘पानीको समस्या हटाउनका लागि सबै उपभोक्ताहरुले स्रोतको संरक्षण र सदुपयोग गर्नृु आबश्यक छ ।’ गोरखाबासीसँग खानेपानीको स्रोत भएपनि त्यसको संरक्षण गर्न नसक्दा सास्ती खेप्नु परेको पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष थापाको भनाई छ । ‘गोरखाको जनसंख्या दिनदिनै बढ्दो छ’ थापाले भने ‘गोरखामा चौबिसे घण्टा बगिरहने पानीको स्रोत धेरै छन् । त्यलाई संकलन गरि ब्यबस्थित ढङ्गबाट बितरण गर्न सकेमा समस्या निर्मुल हुनसक्छ ।’
कार्याक्रममा बोल्दै साना सहरी खानेपानी महासंघका केन्द्रीय सदस्य तथा पृथ्वीनारायण साना सहरी संस्थाका सुरक्षा संयोजक भाइचन्द्र श्रेष्ठले खानेपानीको समस्या समाधान गर्नका सबैले आ–आफ्नो श्रेत्रबाट बिशेष पहल गर्नुपर्ने तर्क गरे । खानेपानीको समस्या अन्त्य र्गा बैकल्पिक खानेपानीको आयोजना ल्याउँदै भएका स्रोतको उचित संरक्षण गर्नु पर्ने कुरामा श्रेष्ठको जोड थियो । बिहिबार सो संस्थाले नयाँ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई स्वागत गर्न आयोजित कार्याक्रममा बोल्दै प्रजिअ भट्टराईले पानीको समस्या बारे आफू जानकार भएको बताए । भने ‘मैले सदरमुकाममा पानीको अत्यन्तै समस्या देखेको छु । यसको अन्त्यका लागि सबै एकजुट भएर लाग्नु पर्छ ।’ सदरमुकाममा रहेका समस्या न्युनिकरण गर्न प्रशासन बाट सम्पूर्ण सहयोग गर्ने भटराईले बताए । संस्थाका अध्यक्ष अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।