
यस कारण हुन्छ नारायणगढ मुग्लिन सडकमा घण्टौं जाम !
नारायणगढ-मुग्लिन सडकखण्डको करिब ८८ प्रतिशत काम सकिएको छ। दासढुंगामा सय मिटरबाहेक आँपटारीदेखि मुग्लिननजिक चेपाङडाँडासम्म एक तहको कालोपत्रे निर्माण सम्पन्न भएको हो। सडकको अवस्था सुधार भए पनि सवारी जाम हुन भने रोकिएको छैन। केही साँघुरो पुलले अप्ठेरो भए पनि ‘ओभरटेक’ ले समस्या सिर्जना गरेको नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर शिव खनालले बताए।
आँपटारीबाट बिहानै छुटेका सवारीसाधन दिनभर जाममा रोकिएका थिए। विपरीत दिशाबाट सवारी आएपछि सडकखण्ड नै प्रभावित हुने गरेको छ। दोहोरो सवारीसाधन चलिरहँदा पनि चालक ओभरटेक गर्छन्। दोहोरो सवारी पास नहुँदा जाम हुने गरेको हो। सडक अनुगमन क्रममा रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी प्रभुप्रसाद ढकाल सवारी हटाउन लागिपरे। ओभरटेक गर्ने साधनको चालक अनुमतिपत्रसमेत नियन्त्रणमा लिए तर जाम हुन भने छाडेन। ‘कारबाहीले मात्रै समस्या समाधान हुँदैन, चेतनास्तर बढाउन स्वयं जागरुक हुनुपर्छ’, ढकालले भने, ‘चालकले नै सजगता अपनाए आफैं ठीक हुन्छ।’
सडक आयोजनाअन्तर्गत अहिले चार वटा पुल निर्माण भइरहेको छ। उक्त सडकखण्डमा १८ वटा पुल निर्माण गर्ने योजना छ। ठेक्का सम्झौता भएपछि चार वटा पुलको काम भइरहेको छ। दासढुंगा, खानी पुल, मौरी पुल र जलवीरेमा पुल निर्माण भइरहेको छ। जलवीरेमा रौताहा कन्स्ट्रक्सनले १४ करोडमा निर्माण गर्न लागेको हो भने बाँकी ३ वटा पुल लामा कन्स्ट्रक्सनले १४ करोडमा निर्माणको जिम्मेवारी पाएको छ।
०३६ सालमा चीन सरकारको सहयोगमा गोरखा-नारायणगढ सडकको नाममा निर्माण गरिएको थियो। ०७१ चैतबाट नारायणगढ-मुग्लिन सडक स्तरोन्नतिको काम सुरु भएको हो। एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत पनि सञ्चालित नारायणगढ-मुग्लिन सडक आयोजना काम थालिएको हो।