| सोमवार, माघ १२, २०७७

चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा–१० का ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

भरतपुरका वृद्ध मंसिर ५ गते कोरोना संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना भएका थिए।

उनलाई सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो। शुक्रबार विहान सवा ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यसैगरी मंसिर ८ गते कोरोना संक्रमण भएकी हेटौंडाकी महिलालाई ११ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो।

कोभिड आइसियूमा राखेर उपचार गराइएकोमा उनको कोभिड–१९ निमोनियाका कारण शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जानकारी गराएको छ।

यसअघि बिहीबार मात्रै हेटौंडा–८ की ५७ वर्षीया कोरोना संक्रमित महिलाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार अहिलेसम्म चितवन ठेगाना भएका ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

५ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले सकृय संक्रमितको संख्या ४ सय ८१ छ। ती मध्ये अस्पतालमा ३९ र पब्लिक आइसोलेसनमा १५ जना छन्। अन्य सबै होम आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनुहोस्