
पूर्वअधिराजकुमार धीरेन्द्रकी छोरीले नागरिकता पाईनन्
२०४५ साल असार २ गते काठमाडौंको टिचिङ अस्पतालमा जन्म लिएकी श्रेया शाहको उमेर ३० वर्ष पुग्दैछ, तर उनीसँग नेपालको नागरिकता छैन । श्रेयाले उनकी आमा जया शाह (पाण्डे) को नामबाट नागरिकता पाउँछिन्, तर पिताको नामको स्थानमा अज्ञात (अननोन) लेखाउन आमा–छोरीको मनले दिँदैन । नेपालको पूर्व राजपरिवारको कूलमा जन्मिएकी एक युवतीले कसरी बाबुको पत्तो नभएको भन्ने आधिकारिक प्रमाणपत्र बुझ्नु ?
यो विषय धेरैपटक पत्रपत्रिकामा आइसकेको छ, तर यसले कुनै समाधान पाएको छैन । पूर्वअधिराजकुमार धीरेन्द्र शाहले राजा वीरेन्द्र जिवितै हुँदा आफ्नो अधिराजकुमारको पदवी त्याग गरेर तत्कालिन बडामहारानी ऐश्वर्यकी बहिनी र धीरेन्द्रकी पहिलो पत्नी प्रेक्षा शाहसँग सम्बन्ध टुटाएका थिए । त्यसपछि उनले जया पाण्डेसँग विवाह गरे । धीरेन्द्र तथा जया शाहको वैवाहिक सम्बन्धको उपहारस्वरुप जन्म लिएकी श्रेया शाह भने अहिले नागरिकता नपाएर भौंतारिरहेकी छिन् ।
राजपरिवारमा जन्म लिनु नै उनको लागि अभिशापजस्तो भएको छ । तर, आफ्नो आमाको वैवाहिक सम्बन्धको उपहास गर्ने र आफूलाई औपचारिक रुपमा सधैं प्रताडित गर्ने बाबुको नाम अज्ञात लेखिएर दिइने नागरिकता पनि उनलाई स्वीकार्य छैन ।