छोराकै आश गर्दागर्दै १० सन्तान
दरौंदी: बिहान उठ्ने बित्तिकै सन्तानको भबिष्य राम्रो बनाउन के गर्ने भन्ने चिन्ताबाट गोरखा नगरपालिका ३ नारेश्वरका भीमबहादुर बस्नेतको दिनचर्या सुरु हुन्छ । मरेपछि पिण्डपानी दिने छोराकै आशामा धेरै सन्तान जन्माएपछि उनीहरुको उचित स्यहारसुसारमा बस्तनेतलाई समस्या पर्ने गरेको छ । ‘थायी जागिर छैन्’ उनी भन्छन् ‘ज्याला मजदुरी गरेर परिवारको हात मुख जोर्नै गाह्रो पर्छ । बच्चाबच्चीलाई पढाउनै प¥यो, सरकारी विद्यालय भएपनि कापी कलम दिनलाई पनि धेरै नै समस्या पर्ने रहेछ ।’ छोरा जन्माउने धोकोले १० ओटा सन्तान जन्माएका बस्नेत परिबार पाल्न धौधौ परेको छ ।
२०४९ सालमा जेठी छोरी रश्मिलाई जन्म दिएपछि दम्पतीले लगातार आठ छोरीलाई जन्म दिए । आधा दर्जन भन्दा धेरै छोरी जन्माए पनि छोरा नै पाउनु पर्छ भन्ने सोच मनबाट टाढा जान नसकेको उनीहरु बताउँछन् ।
‘छोरा पाउने धोकोले मैले लगातार आठ छोरी पाएँ’ बस्नेतकी श्रीमती कल्पनाले लजाउँदै भनिन्् ‘छोरा पाउने सपना खेर जान नदिएपछि नवौँ चोटिको गर्भमा हाम्रो धोको पूरा भयो । त्यो बेलाको खुशीको सिमै छैन् ।
’
नवौँ गर्भको पल्टमा २०६७ सालमा जेठो छोरा रजितलाई जन्म दिएपछि दम्पतीको सपना साकार भयो । एउटा छोरा भएपनि फेरि अर्काे छोरा पनि चाहिन्छ जस्तो लागेपछि उनीहरुले २०७० सालमा कान्छो छोरा रश्मिन(कृतम) लाई जन्म दिए । अहिले उनीहरु १० सन्तानका संरक्षक बनेका छन् ।
‘म छोरा छोरीलाई भेदभाव गर्दिन्’ भीमबहादुर भन्छन् ‘छोरा छोरी बराबर हुन भन्ने त थाह छ मलाई तर हाम्रो समाजको परम्परा नै यस्तै छ । छोरी बिहे गरेर अर्काको घरमा गई हाल्छिन्, अनि भोलि बुढेसकालमा छोरा नभए काजकिरिया कसले गर्ने, हामीलाई कसले पाल्नेताल्ने ?’ दुख गरेर भएपनि छोरा छोरीलाई लेखपढ गर्न नजिकैको सरकारी स्कुलमा पठाउने गरेको बस्नेतले बताए ।
बस्नेतको परिवारको आयस्रोत भनेकै खोतीकिसानी र ज्याला मजदुरी हो । उनीहरु सन्तानकै लागि हरेक समय पसिना बगाउने गर्छन् । ‘सबैलाई बोर्डिङ स्कुलमा पठाउने मन थियो’ कल्पना भन्छिन् ‘मजदुरी बाहेक अरु कुनै कमाई छैन् । आफुसँग पैसा नभएपछि राम्रो ठाउँमा पठाउन सकेनौँ । पढाई राम्रो नभएकै कारण छोरा—छोरीको भबिष्यमा समेत असर पर्ने हो की भनेर चिन्ता लाग्छ ।’
पाँचवटी छोरीको भने बिहे भईसकेको छ । भुकम्प जानु अगाडि बस्नलाई समस्या थिएन् । भुकम्पपछि भने उनीहरु बाँसको कप्टेरोले बारेको टहरामा कष्टकर जीवन बिताई रहेका छन् ।
‘भुकम्प जानुभन्दा पहिला मेरो घर यहीँ थियो’ भीम दुख मान्दै भन्छन् ‘सरकारले दशैँको मुखमा पहिलो किस्ता दियो । त्यसै पैसाबाट दशैँ खर्च चलाए । घर बनाउन अरु पैसा जुटाउन नसकेरै अहिलेसम्म टहरामा छौँ ।’
आजसम्म जति सुकै दुख कष्ट भोगेपनी कसैले सहयोग नगरेको कल्पना बताउँछिन् । ‘गरीबलाई बिभिन्न संघ संस्थाले सहयोग गर्छ रे भन्ने सुनेको थिएँ । तर, खै कस्ले गर्छ ? कहाँ छन् र हामी जस्तो दुखमा परेकालाई सहयोग गर्ने ?’