| सोमवार, असार १३, २०७९

त्यो ९ दिनको यादगार मनास्लु ट्रेकिङ (तस्बिरहरू)

दीपकिरण खड्का :

मेरो लागि हिमाल यात्रा केवल हिमाल दर्शनको सिलसिला मात्रै होइन देशदर्शन अभिलाषाको उत्कट चाहना पनि हो, रैथाने गाउँ र जीवनको चियो पनि हो। हुन त सबै मानिसको यात्राको आफ्नै लय, गति र उद्देश्य हुन्छ। यात्राको भव्यताले लट्ठिएको न परें!

यसरी ठट्टा नै ठट्टामा मनास्लु यात्रा जुराइयो, अझ भन्दा जुर्यो भनम्। एकातिर आउँदो गरेको स्थानीय तहको चुनाव, अर्कोतिर मैले पाएको छोटो बिदा, अनि यो निकै अगाडिदेखि मनास्लु यात्राबारेको चर्चा। 

सपना पूरा हुन पहिले सपना देख्नुपर्छ भन्थे, आखिर यो कुरो पनि मेल खायो नै। 

यात्राको पहिलो दिन बिहान सबेरै ५ बजे उठियो। मनमा उत्साहको चाङ पो थियो। हामी काठमाडौंबाट माछीखोलासम्म बसमा गयौं। बाटाभरीका दृश्यहरू भिन्नभिन्न थिए। बसमा हामी जाने दिन नै विदेशीले भरिएका थिए। बस हेर्दा रिजर्भ गरिएकोझैं देखिन्थ्यो। विशाल पहाडका साँघुरा सडक हुँदै हिँडेको कच्ची बाटो हुँदै गन्तव्य लम्किएको गाडी लच्किँदा विदेशीहरू आत्तिएसँगै रमाइलो मानेको दृश्य बडा गजबको थियो। 

झन्डै ९/१० घन्टाको बस यात्रापछि हामी माछीखोला पुग्यौं। चुनावी चहलपहल बढिसकेको थियो। 

माछीखोलाबाट पैदल ८ किमी हिँडेर तातोपानी हुँदै दोमन गएर बास बस्यौं। 

गुरूङसेनी दिदीकोमा बसियो। बुढी गण्डकीको तीरैमाथि रहेको होटलले मेरो घरको याद दिलायो। मेलम्ची बाढीको झस्कोले झस्काइ नै रहन्छ। 

खैर, त्यो विपत्तिको हावा सम्झेर कहाँ यो सुन्दरता भुल्नु? पारी लार्के जोडिने सडक खनिँदै रहेको दृश्य देखिन्थ्यो। दिदीका दुई बूढीआमाहरू पनि थिए। साना बैनीहरू पनि थिए। हाम्रा गफहरूलाई सुनेर मुसुक्क हाँस्थे पनि। निकै मीठा गफ गरेर त्यो रात त्यहीँ बिताइयो। बास रमाइलो भो।

अर्को दिन बिहान सबेरै उठेर हामी निरन्तर हिँड्यौं। बाटाभरि खच्चर आइरहन्थे। खच्चर र खच्चर लिएर हिँडेकाहरू प्रायः भेटिरहन्थे। हामी उचाइले निकै तल थियौं। खासै यात्रीहरू देखिएनन्। अलिकति माथि गत सालले निम्त्याएको विशाल पहिरो देखिन्थ्यो। बाटो पनि ध्वस्त थियो। निकै अजंगको पहिरो देख्दा मनमा सानो-तिनो भुइँचालो गैसकेको थियो। 
भाइहरूलाई मैले सचेत भएर हिँड्न भनेँ। 

बल्ल तल्ल पार गरियो, चिप्लियो भने सिधै गण्डकी पुगिने डर थियो। 

विश्वास भाइ र अंकित भाइलाई अघि राखिएको थियो। मिलन पछाडि थियो। म र विपिन बीचमा थियौं। पहिरो कटाएपछि लामो सास फेरियो। पहिरोभन्दा अलिक पर बिसौनीमा गएर थकान मार्ने मेसोमा सबैले आफ्ना अनुभूति बाँड्यौं। त्यसपछि हामी गण्डकीको तीरैतीर हिँड्यौं। 

पहाडी भूगोलका विविध भिन्न दृश्यहरू बडा आनन्द दिने खालका देखिन थाले। तुवाँलोले अलिक उज्यालो भने देखिन्थेन। यसै फेरोमा म एकटक पहाड हेरेर बसें केहीबेर। 

पहाडहरू विशाल र अजंगका थिए। पहाडहरू सुन्दर हुन्छन्। पहाडहरू हेरेर म घन्टौं लोभिएको छु अरू बेला पनि। 

अग्ला पहाडी सेरोफेरोबीच हुर्किएको मलाई च्यामुसीका होचा पहाडले पनि एकखाले आनन्द दिन्छन्। सबैभन्दा ज्यादा मैले म खेलेको सेरोको फाँटमा टम्म मिलेका ती तीन पहाडहरूलाई आँखा अघिल्तिर मात्रै नियालेको थिएँ। आज आफू अघिल्तिर उभिएका भिन्न पहाडहरूलाई यात्रामा हिँड्दै जाँदा फरक अनुभूति पाएँ। 

ती सिङ्गो एक्लै उभिएका पहाडहरू असलीमा नेपथ्यमा उभिएका धेरै पहाडहरूले बनाएका स्वरूप रहेछन्।

पहाडहरूले नि मलाई भ्रमित बनाए, असलीमा मैले जे देखेर सत्य मानेँ, त्यो सत्य होइन रहेछ, त्यो झूट पनि होइन रहेछ। 

अग्ला पहाडहरू हेर्दा त्यहाँ बस्ती कसरी बसे होलान्, टाढाबाट हेर्दा त्यहाँ घरहरू कसरी अडिए होलान् भन्ने प्रश्न तेर्सिन्थे। 

तर पहाडमा फाँट पनि हुँदा रैछन्, पहाडकै आफ्नै मौलिक तराईहरू हुँदा रैछन्। पहाडका टाकुरामा गोरेटो अनि पाटनहरू पनि हुँदा रैछन्, जसलाई हामी फेदीबाट अनुमान पनि लगाउन सक्दैन रैछौं। 

सारमा पहाड आँखाले नियालेको पहाड मात्रै होइन रहेछ, एउटा सिङ्गो पहाड त हजारौं पहाडहरूको त्याग अनि समर्पणले उभिएको पहाड रैछ। 

म पहाडमा केहीबेर भुलेछु। अनि लगालग फेरि हिँडियो। जगत पुग्नुअघि क्यान्टिलिभर ब्रिज चढ्यौं। बाटो तल बगर नै बगर रैछ। 

झन्डै १२ बजे हामी जगत पुग्यौं। हामी एक्लेभेट्टी (चिसापानी) गएर बस्यौं। फिलिमबाट केही पर मात्रै रहेछ। पानी पर्नाले हामीले सोचेको गन्तव्यमा पुग्न सकेनौं।

तेस्रो दिन सबेरै उठियो। नामरुँग पुग्ने प्लानसहित हिँडियो। बेलुकाको हावाहुरी र पानीले आकाश मस्त खुलेको थियो। बाटामा विदेशीहरू पनि देखिन थाले। हामी न्याक फेदी, पेवा हुँदै राना पुगेर दिउँसोको खाना खायौं। हामी घापकै एक होटमा बस्यौं। त्यो रात नामरूँग पुग्न सकिएन। यहाँ एनटिसीको नेटवर्क टिप्यो, नेट नि चल्यो। विच्याट चेक गरेको चीन बोलाउने कुरो आइसकेछ, लिस्टमा नाम रैछ। अर्कोतिर चिनियाँ परीक्षाको खबर पनि रैछ। मनले हंस छाड्न थाल्यो। 

चौथौ दिन बिहान उठ्दा चीन जाने कुरो र परीक्षाले तर्साइराखेकै थियो। शनिबार सामा गाउँसम्म पुग्ने तरिकाले प्लान गरें, भाइहरू राजी भए। २ दिन एक्स्ट्रा निस्कने भयो। अनि हिँड्न थालियो। घापबाट तेर्सो तेर्सो नागबेली बाटोबाट हाम्रो पाइलाहरू लम्किरहेका थिए। झन्डै आधा घण्टाको हिँडाइपछि हामी जंगलको बीचमा एक सुन्दर होटलमा पुग्यौं। त्यहाँ चिया नास्ता गरेपछि लागियो उकालोमा। 

बाटाबाट अब हिमाल देखिन थाल्यो, आकाश मस्त खुलेको थियो। नामरूङ हुँदै भन्जम गएर दिउँसोको खाना खायौं। खाना खाइवरि हामी विस्तारै हिँड्न थाल्यौं। दिउँसोको खानालेअल्छीपना बढायो। अनि सामागाउँ पुग्ने भने पनि ल्होमा गएर बस्यौं। 

पाँचौं दिन बिहान उठेर मनास्लु हिमालको सुन्दर दृश्य अवलोकन गरियो। ल्होबाट जत्तिको मनास्लुको सुन्दरता अन्यत्रबाट नदेखिने रैछ। अनि सामा गाउँ खासै टाढा नभएकाले स्याला गाउँ पनि बिस्तारै हिँडियो। 

स्यालामा ब्रेकफास्ट गरियो। अनि त्यताबाट लागियो सामागाउँतिर। 

दिउँसो १ बजेतिर सामागाउँ पुगियो।

छैठौं दिन बिहान वीरेन्द्र ताल हेर्न गयौं। आमा खुवाउने औंशी पनि परेको थियो। मनास्लु यात्राको तेस्रो दिन अर्थात् वैशाख १४ गते बाको जन्मदिन परेको थियो। मैले यो यात्रालाई बाको नाममा पनि संकल्प गरेको थिएँ।

अन्तिम जन्मदिनको सम्झना आज पनि मस्तिष्कमा गढेर बसेको छ। आमा खुवाउनेऔंसीमा आमासँग हुन सकिएन नै, न फोन लाग्ने ठाउँमा थियौं हामी, अब साम्दोबाट धर्मशालाको  लागि अघि बढ्यौं।

साम्दोबाट लार्केफेदी जाने सुन्दर तर नसकिने गोरेटोहरू देखेर मनमा धेरैथरि कुरो खेल्यो। गोरेटोहरूसँग पनि कस्तो प्रेम जाग्दो होला है? त्यो दशकौं द्वन्द्वकालमा हिँडेको बाटोका सम्झनाहरू आए।

यिनै गोरेटोमा उसैगरी हिँड्दा मन भावुक बन्दो रैछ, हिउँ पग्लिएको नाङ्गो पहाडझैं खाली हुँदोरैछ, मान्छेजस्तै रित्तो हुँदोरैछ। त्यो गोरेटोले जीवनको भाग्य कोरेको छ, जीवनलाई कर्मयोगी बनाएको छ। यहि गोरेटोले हाम्रो सुदूर क्षितिजको यात्रा गराएको छ। 

लार्के खोलाको उपत्यकामा हिमाललाई माथ राखेर यो तस्बिर खिचाएँ। ‘ब्रह्माण्ड’ भन्नु बा आमा, ‘कैलाश’ भन्नु हिमाल र ‘महादेव’ भन्नु समयको पात्र म ! मैले यसैगरी सम्झना गरें। झन्डै १ घण्टा लगाएर ताल पुगियो। निकै सुन्दर रैछ। तालमा घुमेर सामा गाउँ नै फर्कियौं। मनमनै चाहिँ बरू ब्याग बोकेर यतैबाट साम्दो लाग्न पाको भएनि हुने भनेर लागिरह्यो। फर्केर सामागाउँ आइयो, अनि खाना खाएर हामी साम्दो पुग्यौं। 

खाना खाइसकेपछि हामी धर्मशालातर्फ अगाडि बढ्यौं।  लार्केफेदी अर्थात् धर्मशाला झन्डै ४,४०० मिटरमा अवस्थित रैछ। 

अघिल्लो दिन साम्दो गाउँबाट बीच बाटोबाट रूझ्दै, चिप्लो गोरेटोसँग मितेरी साइनो गाँस्दै पुगिएको थियो। बाटाभरी ‘ध्यान दिनुहोला, ढुङ्गाखस्न सक्छन् !”लेखिएका बोर्डहरू, जसले मनमा दिने कम्पनहरू भिन्न थिए। 

‘हामी सबैको जुत्ता अलिक चिप्लो खालको छ, बाटो पनि सानो छ, तल भिर छ, माथिबाट ढुङ्गा खस्न सक्छ, अलिक दायाँ बायाँ आँखा लगाएर चनाखो भई हिँड्ने है !’ मैले यसो भनिसकेपछि भाइहरू सरासर बाटो तताउन थाले। 

धर्मशाला पुगियो, घर थियो, मान्छे थिएन, हामीले सोचेको र खोजेको आगो थिएन! 

तातोपानी एक थर्मस किन्यौं, पानी खाएर ओछ्यानमा गुट्मुटियौं। रातको खाना खाइसकेर बिहान ३ः३०मा उठेर सबै सामान मिलायौं। मनमा उत्सुकता थियो आज त लार्के पास गर्ने दिन! अनि चिया र बिस्कुट खाएर यात्रालाई बाटो तताइयो ! 

४ बजेतिर हामी धर्मशाला अर्थात् लार्केफेदी पुग्यौं। रातको खाना खाएर बिहान ३ः३० मा उठ्ने कुरो भयो। 

सातौं दिन बिहान ३ः३० को अर्लामले उठायो। अनि चिया र बिस्कुट खाएर हामी ४ः४० मा लार्के ला पास (५,१६० मि) पार गर्न भनेर हिँड्यौं। 

हिउँसँग संघर्ष गर्दै ४ घण्टामा पास पुगियो। पाइला पाइलाको संघर्षले २०० मि कटाउन बहुत गाह्रो भो। मैले चढेका उचाइमध्येको जीवनको पहिलो ५००० मिटरको पास यही थियो। भाइहरू सब थाकेका थिए। लार्के ला नजिक नजिक छौं तर हिँडाइ झन् कठिन झन् कठिन! 

पास गर्दाको संघर्ष जीवनको संघर्षको एक अंश होइन र? सास नै फुस्किने हो कि? म आफैं थकित देखिन्थे, नजिकै देखिन्थ्यो तर पुग्यो फेरि पर, यो ‘भ्रम’युक्त वातावरण पनि ४ घण्टाको संघर्षपछि पार लगाइयो। हर्षविभोर भैयो। चारैतिर हिमाल, माथि आकाश र पासमा केवल हामी थियौं। खुसीले दंग भयौं। अनि काला बादल मडारिन थालेको देखेसी अब अलमल गर्न हुन्न भनेर तल झर्न थालियो। 

धर्मशालाबाट ४ः४० मा हिँडेका थियौं। अलिक माथि पुगिसकेपछि हिउँहरूले पुरिएको माटो भएर बाटो बनाउँदै हिँड्दै पर्ने देखियो। 

‘यसरी बाटो बनाउँदै, हिउँमा गाडिएको खुट्टा निकाल्दै कसरी हिँड्ने होला…यात्रा त सोचेजस्तो हुन्न कि क्या हो?’ मनमनै यसै सम्झिएर लार्के पासलाई ४ घण्टा लगाएर कटाएको यादले पास सक्ने बित्तिकै मनमा एकखाले जितानुभूतिले ठाउँ लिराथ्यो। 

ओरालो झर्दै  गर्दा हिउँले फेरि प्रीति गाँस्ने संकेत दिँदादिँदै पनि हामी त्यो अवस्थाबाट पर भाग्न पर्ने अवस्थाले बेगियौं। हातहरू चिसा हुँदै थिए, प्लास्टिक भित्रका मोजासम्म पनि हिउँ छिरेर चिसा भएका थिए।

जिउभित्र पानी छिरेको थियो, यो बाबजुद मनाङमा गुरुङसेनी दिदीको होटलमा आएर आगो ताप्दै चियाको मज्जामा लुट्न पाउँदा मज्जाले पनि कुन लेभलको आनन्द लियो होला? त्यो तातो चियामा दिदीको आत्मीयताले रित्तिएको गोजीले पनि साहस भर्दै थियो। 

‘जति पुग्छ त्यति दिनुभए हुन्छ, भाइहरू अप्ठ्यारोमा पर्नुभा रैछ!’ क्या आँट, क्या सद्भाव! त्यो हिमाली चिसोमा क्या न्यानो अनुभूति। जीवन यात्रामा भेटिने हिमाली मनहरूसँगको भेट दुर्लभ संयोग हो।

लार्क ला पास गरिसकेपछि प्रायः भीमाथाङ नै बस्ने परिपाटी छ। तर हामी लार्के पास गरिसकेपछि गोवा पुग्ने चाहनासहित मोडियौं। 

सिमसिम पानी परिरहेको थियो, हामीले चिया खाइसकेर होटलबाट निस्कियौं। मस्त तापिरहेको आगोको न्यानोले छाडिसकेको पत्तो थिएन। दूधखोला हतारेर बगेको देखिन्थ्यो, विशाल पहिरोहरूले मलाई असार १ मा नै पुर्याउँथे। गोब्रे सल्ला, गुराँसको विशाल वन भएर हाम्रो यात्रा अघि बढिरह्यो। 

साँझमा हामी गोवा पुग्यौं। अनि संयोगले पुगिएछ, हिल टप रेस्टुराँ। पैलो भेटमै दिदीले मन चोरिन्। मुसुक्क हाँसेर खुल्ला बोल्नुभो, आत्मीय अनुभूत गर्न कतिबेर पनि लागेन। बेलुका दिदी आफैंले बनाएको कोदोको झोल खाइयो।

बिहान दिदीसँग घण्टौ संवाद गरियो। शिक्षण पेशामा रहेर पनि होटल चलाउनुभाछ, स्याउ फार्म घुमाउनुभो। हामीलाई पनि आफूले सकेकोसम्म मिलाएर गर्नुभो। अनि दिदीसँग तस्बिर खिचेंम। आठौं दिन पनि धन्य भो ! दूध खोलाको तीरैतीर, गुराँसको वन हुँदै गोवा पुगेर पाएको माया अद्भूत थियो।

आठौं दिन बिहान ७ बजे उठियो। होटलको जिनु दिदीसँग मस्त संवाद गरियो, स्याउ फार्म, सतुवा फार्म हेरियो। शिक्षण पेशामा आबद्ध तर काम जता पनि भ्याएको देखेर दंग परियो। 

दिदीले हाम्रो समस्या बुझेर हामीलाई सघाउनु पनि भयो। अनि बिहानीको ब्रेकफास्ट हिँडेर तिल्चे हुँदै दूधखोला र मर्स्याङ्दीको दोभानमा आएर खाना खाइयो। त्यसपछि बेशीशहर जानको लागि गाडीलाई फोन गरियो। 

मनाङको सुन्दर पर्यटकिय गाउँ ताल र म हुर्केको हेलम्बुको त्यो सुन्दर उपत्यका कसरी निमेष भरमा असार १ सँगै विलय भए? सबैका कथा यस्तै हुन्, चाहे त्यो हिमाली सुन्दरता नै किन नहोस्!

सबै भिन्न भिन्न तरिकाले गतिमान थिए। सबै मस्त व्यस्त थिए। आफ्ना दुःखका सारथी भएर हिँडेका थिए। हर मानिसहरू नबोले पनि मुसुक्क मुस्कान साट्थे, मनास्लु, हिमचुली, बुद्ध हिमाल बडो शान्त्र देखिन्थे। बादलहरूले बिस्तारै हिमाल दर्शनमा निस्केको भेउ पाइन्थ्यो। खच्चरहरू, याकहरू देखिन्थे।

मनास्लु क्षेत्र पहिरोले ग्रस्त रैछ। बर्खायाममा यात्रा गर्न लगभग असम्भव नै रैछ। तल्लो बेल्टमा स्वास्थ्य क्षेत्रको अवस्था राम्रो रहेनछ। प्रोजेक्टहरू सबै माथि मात्रैबस्ने रहेछन्। चीन जोड्ने सडकले पुराना बस्तीहरू विस्थापित गरेछ। प्लास्टिक जन्य फोहोरले मनास्लुलाई नि छाडेको छैन।

मनास्लु यात्रालाई सम्झना योग्य बनाउने यी केटाकेटीहरू पनि हुन्। हर ठाउँमा तिनका निश्चलताले मलाई तानिहाल्थ्यो, बोलिन भने किन नबोल्या हुँला म भन्ने भावले प्रश्न तेर्साइदिने। बाटोमा भेटिएका हर मान्छेसँग मिलेसम्म बोल्ने, नबोले मुसुक्क मुस्कान साट्ने, मुस्कान पनि नसाटिए आँखाले हेरा हेर गर्ने, यत्ति गरिएछ।

स्वयात्राको भिन्न अर्थ छ। अनि भेटेका केटाकेटीलाई हुँदा चक्लेट दिइयो, नहुँदा गफगाफ मै सीमित भैयो। त्यो विकट हिमाली भूगोलका केटाकेटीको संसार पनि क्या भिन्न थियो। कोही खेतमा बाँदर धपाउनतिर थिए, भेटिएका कोही पानी थाप्न अलिक पर जाँदै थिए, कोही होटलमा बाआमालाई सघाउनेमा थिए, कोही केटाकेटी उमेरको मज्जा लिँदै थिए। चित्रहरू भिन्न थिए।

के हिमालको कथा केवल सुकिला र मुकिला मात्रै कथा हो? के हिमाल देखेको जत्तिकै सुन्दर छ? हिमालको छाती कति विशाल? हिमालमा कोको अट्छन् त? हो, वास्तवमा हिमाल बन्न सजिलो कहाँ? हिमालसँग दुःखको चाङहरू छन्, ऊ अभावको बिम्ब हो, ऊ भावको सागर हो, ऊ प्रभावको दीप हो। उसको हृदय विशाल छ।

हिमाल बन्न पनि त कहाँ सजिलो छ र? हिमाल बन्न सजिलो छ भन्नेहरू हो, समथल बनेर धरा अटाउन विविशहरू हो, हिमाल बनेर त हेर हिमाल भएर उभिन झन गार्हो छ !

यात्रामा नेपाली ग्रुप हामी मात्रै थियौं। सबै विदेशी, नेपाली गाइड र पोर्टरहरू मात्रै। हर ठाउँमा सहयोग र माया पाइयो।

मानिसहरूसँग अद्भूत संवादहरू भए। केटाकेटीहरूसँग नजिकिएँ। अनुभूतिहरू आदानप्रदान गरियो। गुरूङ समुदायले मन जिते, नेपालीपनलाई त्यो हिमालमा ऊँचो बनाएका रहेछन्। 

कम बजेटमा ९ दिने यात्रा सकाइयो। मनास्लु सर्किट यात्रालाई एकदम सुन्दर गन्तव्य हो भन्ने कुरोमा सन्देह छैन। मनास्लु नेपालीहरूको पर्खाइमा छ। विदेशीले भन्दा नेपालीले खर्च राम्रो गर्छन् भन्ने अनुभव त्यता पनि सुनियो। यो पदयात्रा मात्रै भो मलाई चाहिँ अन्य गुरूङ गाउँ घुम्ने रहर छ।

समग्रमा मनास्लु यात्रा भव्य, अद्भूत र अविस्मरणीय रह्यो।

साभार : सेतोपाटी

प्रतिक्रिया दिनुहोस्