| सोमवार, असार १३, २०७९

म्याद सकियो, जनप्रतिनिधिले खर्च विवरण बुझाएनन

निर्वाचनमा गरिएको खर्च विवरण पेश गरिसक्नु पर्ने म्याद सकिँदा पनि आरुघाट गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधिले निर्वाचन खर्च बुझाएका छैनन् ।

निर्वाचनको परिणाम सार्वजनिक गरिएको मितिबाट एक महिनाभित्र खर्च विवरण पेश गरिसक्नु पर्ने कानूनमा व्यवस्था भए पनि आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, र उपाध्यक्ष कल्पना नेपाली तथा गण्डकी गाउँपालिकाकी उपप्रमुख ललिता अधिकारीले निर्वाचन खर्च विवरण नबुझाएका हुन् ।

आरुघाट गाउँपालिकाका विजयी, पराजयी सबै उम्मेद्वारले असार १ गतेभित्र निर्वाचनको क्रममा भएको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरिसक्नु पर्ने व्यवस्था छ । व्यवस्था अनुसार उनीहरुबाहेक सबै विजयी उम्मेद्वारले खर्च विवरण बुझाइसकेका छन् ।
कार्यालयकाअनुसार शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले निर्वाचनमा तीनलाख ३२ हजार रुपैयाँ मात्र खर्च गरेको दाबी सहितको विवरण पेश गरेका छन् । उपाध्यक्ष इन्दिरा तिवारीले दुईलाख पाँच हजार रुपैयाँ मात्र खर्च गरेको विवरण पेश गरेकी छन् ।
त्यस्तै भीमसेनथापा गाउँपालिका का अध्यक्ष लोकप्रसाद बञ्जराले जम्मा तीनलाख ४६ हजार र उपाध्यक्ष अमृता वस्तीले दुई लाख ८४ हजार रुपैया खर्च गरेको विवरण पेश गरेकी छन् ।

सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले दुईलाख ८८ हजार र उपाध्यक्ष रीता देवकोटाले दुई लाख ८८ रुपैया खर्च गरेको विवरण पेश गरेका छन् । त्यस्तै अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जम्मा तीनलाख आठ हजार र उपाध्यक्ष अनिता भुजेलले तीनलाख तीनहजार रुपैयाँ मात्र खर्च गरेको जनाएका छन् ।

गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले चुनावमा जम्मा तीनलाख ७४ हजार र उपमेयर मसलीमाया थोकरले चारलाख ५० हजार खर्च गरेको विवरण पेश गरेका छन् । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले दुईलाख ८७ हजार रुपैयाँ खर्च गरेको विवरण पेश गरेका छन् । धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले तीनलाख ३१ हजार, उपाध्यक्ष सुनिला गुरुङले जम्मा दुईलाख ७६ हजार, चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले तीनलाख ४५ हजार र उपाध्यक्ष लक्ष्मी गुरुङले दुईलाख ८६ रुपैया खर्च गरेको विवरण पेश गरेकी छिन् ।
निर्वाचनको मत परिणाम सार्वजानिक भएको ३० दिनभित्र आयोगलाई खर्च विवरण बुझाउनु पर्ने हुन्छ । सोही अनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरुलाई आग्रह गरेको थियो ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका दुईहजार २२ जनाले उम्मेदवारी दिएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुबेदीले जानकारी दिए ।

निर्वाचनको परिणाम सार्वजानिक भए अनुसार असार पाँच गतेभित्र सबैले विवरण बुझाउनु पर्ने कार्यालयले स्पष्ट पारेको छ ।
स्थानीय चुनावमा नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यस्तै नगरपालिकाका वडाअध्यक्ष तथा सदस्यहरुले दुईलाख र गाउँपालिकाका वडाअध्यक्ष सदस्यहरुले एकलाख ५० हजार रुपैयाँ मात्र खर्च गर्न पाउने व्यवस्था छ । जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले भने ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।

निर्धारित समयसीमा भित्र निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई छ बर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेद्वार बन्न नपाउने गरी कारवाही गर्न सक्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्