| सोमवार, असार १३, २०७९

चीन सरकारद्वारा समन्वय नगरी गोरखाको सीमानामा तारबार

चीन सरकारले द्विपक्षीय समन्वय नगरी गोरखा सामागाउँको सीमानामा तारबार लगाएको छ । सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने मापदण्ड पालना नगरी चुमनुब्री गाउँपालिका वडा नं. १ को रुइला नाकामा तारबार लगाएको हो ।

‘रुइला नाकामा तारबार लगाएको छ’, स्थानीय छिरिङ लामाले भने, ‘तारबार उनीहरुकोपट्टि नै छ, तर दसगजा क्षेत्रभित्रै छ ।’ तारबार गरेर आवतजावत ठप्प पारेपछि बिगत तीनबर्षदेखि सीमा वारि र पारिका आफन्तहरु भेटघाट गर्नसमेत नपाएको उनले गुनासो गरे ।
‘साम्दो र रुई भनेको त वारि र पारिको गाउँ हो । यताको आफन्त उता पनि छन्, उताका इष्टमित्र यता पनि छन् । सीमाना बन्द भएपछि बुढाबूढीहरु आफन्त भेट्न नपाएर चिन्ता गरिरहेका छन्’, उनले भने, ‘अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि पाएका छैनौँ । एकदम समस्या भएको छ ।’

No description available.


तारबार गरेर गेटमा ताल्चा लगाएको स्थानीयले बताएका छन् । ‘गेटमा ताल्चा लगाएको छ । सीसी क्यामेरा राखेर निगरानी भइरहेको छ भन्ने हल्ला सुनिन्छ तर हामीले देखेका छैनौँ’, अर्का स्थानीय धावा लामाले भने, ‘उता तिब्बती र चिनियाँ सेना प्रहरी मिलेर डिउटी बसेका हुन्छन् ।’

रुईभञ्ज्याङको वारपार हुने गरी तारबार गरेको हालै त्यहाँ व्यक्तिगत भ्रमण गरेर फर्केका एक सरकारी कर्मचारीले जानकारी दिए । ‘रुई भञ्ज्याङ ढाक्ने गरी वारपार तारबार गरिएको छ’, नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने, ‘तारबार करिब डेढसय मिटर लामो छ । तारबार गरेर गेटमा चापी लगाएको छ । त्यहाँबाट त यसै पनि हिँड्न मिल्दैन । बार कटेर दुवै छेउकुनाबाट पनि मान्छे र पशुचौपाया हिडडुल गर्न मिल्दैन ।’ आफूहरु त्यहाँ पुग्ने वित्तिकै चिनियाँ र तिब्बती सुरक्षाकर्मी आइपुगेको उनले बताए ।

No description available.

चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पारस्थित ङुइला नाकामा पनि तारबार गरिएको थियो । तर छेकम्पारका सामाजिक अगुवाहरुले दुईपक्षीय छलफल नगरी तारबार लगाइएको भनेर पटक पटक बिरोध गरेपछि त्यसलाई हटाइएको छ ।

सीमा आयोगका सदस्य रमेश ढुंगेल स्पष्ट सीमाङ्कन नभएको ठाउँमा द्विपक्षीय छलफल नगरी तारबार गर्न नपाइने तर्क गर्छन् । ‘जहाँ स्पष्ट रुपमा सीमाङ्कन गरिएको छ, त्यहाँ दसगजाभन्दा बाहिर संरचना बनाउन सोधिरहनु पर्दैन, तर जहाँ स्पष्ट ‘डिमार्केशन’ छैन, त्यहाँ दुई पक्षीय छलफल र सहमति नभएसम्म कुनै पनि संरचना बनाउन पाइँदैन’, उनी भन्छन्, ‘मलाई लाग्छ, हिमाली भेगमा स्पष्ट डिमार्केशन गरिएको छैन । त्यस्तो संवेदनशील ठाउँमा जुनसुकै संरचना बनाउन पनि दुईपक्षीय सहमति चाहिन्छ ।’ नेपाल सरकारले कुनै पनि सीमानामा आफ्नो तर्क र अडान दह्रोसित राख्न नसकेको उनको विश्लेषण छ ।

‘यस्तो संवेदनशील बिषयमा मन्त्रीहरुले ओठे जवाफ दिएजस्तो सतही कुराले हुदैन’, उनी भन्छन्, ‘प्रत्येक १० बर्षमा सीमा पुनरावलोकन गर्ने भन्ने हरेक सन्धी, सम्झौतामा उल्लेख हुन्छ तर हाम्रो कुनचाहिँ सीमानाको १०–१० बर्षमा पुनरावलोकन भएको छ ? सीमा सुदृढ गर्न नसक्नु यो कमजोरी सरकारको हो । सयौँ बर्षअघि मानसरोबर, कैलास हाम्रो थियो भन्न नपाइने ? सीमांकन गर्दा हाम्रा अधिकारीहरुले गल्ती गरेका थिए भन्न नपाइने ? आफ्नो भूभागका बारेमा बोलिरहनु पर्छ, लेखिरहनु पर्छ ।’ सीमाको बारेमा बोल्नै हुँदैन भन्नु दासहरुको मनोवृत्ति भएको उनले तर्क गरे ।

सीमा क्षेत्रमा तारबार गरिएको बारे जिल्ला प्रशासन कार्यालय गोरखामा कुनै पनि जानकारी नरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य बताउँछन् ।

दसगजा क्षेत्र छाडेर तरबार वा अन्य संरचना निर्माण गर्न पाउने व्यवस्था भएको परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल बताउँछिन् । ‘हाम्रो जानकारीमा रहेसम्म रुई नाकामा दशगजा भन्दा पर तारबार गरिएको छ’, उनले भनिन्, ‘सीमास्तम्भ भन्दा १० गजा क्षेत्रभित्र तारबार वा कुनै पनि संरचना बनाउँदा दुईपक्षीय सहमति आवश्यक पर्छ । दसगजाभन्दा बाहिर हो भने छलफल गरिरहनु पर्दैन ।’

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने दुई देशीय सीमा क्षेत्रमा तारबार लगायतका संरचना बनाउँदा दुई देशीय सहमति जुटाउनु पर्ने तर्क गर्छन् । सीमाविद वुद्धिनारायण श्रेष्ठ पनि दशगजा क्षेत्रभित्र संरचना बनाउँदा दुई देश बीच सहमति हुनु पर्ने बताएका छन् ।
कोभिड महामारी सुरु भएदेखि चीन सरकारले सीमा क्षेत्रमा तारबार गरेर नाकाबन्दी गरेको छ । नाकाबन्दीका कारण सीमा क्षेत्रका नेपाली गाउँबस्तीको जनजीवन प्रभावित भएको छ । सीमा खुल्ला गर्न माग गर्दै स्थानीयबासी तथा जनप्रतिनिधिहरुले बारम्बार प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री तथा परराष्ट्र मन्त्रीहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै आएका छन् ।

आफ्नो क्षेत्रमा तारबार गरेका चिनियाँ सुरक्षाकर्मीले सीमा क्षेत्रमा नेपालीहरुलाई घुमफिर गर्न पनि कडाइ गर्ने गरेका छन् । ‘केही दिनअघि एकजना लामा सीमानामा पुगेका थिए । उताका सेनाले कोभिड ड्रेस लगाइदिएर फर्काइदिएछन्’, साम्दोका छिरिङ लामाले भने ।
हालै निर्वाचित चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले सीमा नाका बाहै्र महिना खुल्ला गरी सीमा क्षेत्रका गाउँबस्तीको जनजीवन सहज बनाउन प्रयास गर्ने जनाएका छन् ।

चीन सरकारले भने कोभिड महामारीको त्रासको कारण देखाउँदै नाका खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्