| शनिबार, बैशाख २२, २०८१

एक सफल व्यवसायीको अनुभव : सही समयमा सही निर्णय लिनेहरु सफल हुन्छन्

शिव उप्रेती :

आफ्नो भविष्य देख्ने ‘पुरुष’ इहलोकमा कोही पनि हुँदैन । आफ्नो भविष्य आफैले त देखिन्न भने कसैले अरुको भविष्यवाणी गर्छ भने त्यो बकवास मात्र हुन्छ ।

गोरखा सदरमुकाम बजारका सबैभन्दा सफलमध्यका एक व्यापारी व्यवसायी मनकाजी श्रेष्ठ हुन् भन्दा दोराय पक्कै हुनेछैन । उनलाई पनि भविष्यमा सफल व्यापारी बन्नेछु भन्ने ज्ञात नहुनु अस्वभाविक भएन । त्यसैले उनले जीवनको स्टेरिङ सरकारी जागिरतिर सोझ्याएका थिए । २०५३ सालमा जिल्ला स्वास्थ्य कार्यालयबाट अहेब पदको करार नियुक्ति लिएर बोर्लाङ, पछि बुंकोट स्वास्थ्य चौकीमा जागिर खान गए । उनका भाइ ज्ञानकाजी स्थायी नियुक्ति लिएर केरौँजा स्वास्थ्य चौकी, चुम्चेत स्वास्थ्य चौकी गए ।

त्यतिबेला सरकारी जागिरलाई धेरै ठूलो करिअरको रुपमा लिइन्थ्यो । अहिले पनि सानो रुपमा लिइने होइन । विश्लेषण आ–आफ्नै हुन्छ ।
उनका बुबा र आमाले भने बसपार्कभन्दा माथि(हाल अधिग्रहण गरिएको ठाउँ)को एक घरमा होटल व्यवसाय गर्थे ।

त्यसअघि २०४३ सालदेखि नयाँबजारको एक घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए । ‘त्यतिबेला म बसपार्कमा आएर खानाको रु ८, सुत्नबस्नको रु ५ भन्दै ग्राहक खोज्थेँ’, मनकाजी भन्छन्, ‘होटल राम्रै चल्न थालेको थियो, तर घरवालाले अब आफै व्यवसाय गर्ने भनेर निकालिदिए । त्यसपछि बसपार्कभन्दा माथि गएर व्यवसाय सुरु गरियो ।’ त्यहाँ खासै लामो समय व्यवसाय गरेनन् ।
सरकारी जागिर छाडेर २०५६ सालदेखि उनीहरुले दोस्रोपटक जीवनको स्टेरिङ व्यापार, व्यवसायतिर मोडे । किनभने उनीहरु बाजेका पालादेखि व्यापार गर्दै आएको खान्दान थिए ।

उनको बास्तविक घर खोप्लाङ भञ्ज्याङ हो । हजूरबुबा कृष्णभक्त श्रेष्ठले खोप्लाङमा कपडा दोकान सञ्चालन गर्थे । हजूरबुबाको निधन भएपछि बुबा बाबुराम श्रेष्ठले चोरकाटेमा चियाखाजा दोकान सुरु गरे । त्यतिबेला भच्चेक तथा बारपाक, लाप्राकदेखिका बटुवाको आवतजावत गर्ने मूलबाटो चोरकाटे थियो । जब गोरखा बजारसम्म सवारी साधन चल्न थाल्यो, उताको चहलपहल कम हुन थाल्यो । अनि उनीहरु चोरकाटेको व्यापार छाडेर खोप्लाङ गएर बसेका थिए ।

त्यसैले पुर्खादेखि गर्दै आएको होटल व्यवसायलाई २०४३ सालमा गोरखा बजारमा आएर पनि निरन्तरता दिएका हुन् । ‘बुबाआमासित होटल गर्नुभएको पैसा थियो । मैले चारबर्ष र भाइले पाँचबर्ष जागिर खाएको पैसा खर्च गरेर शक्तिचोकमा घर किन्यौँ । २०५६ सालमा दुवै भाइले हुँदाखाँदाको सरकारी जागिर छोड्यौँ र त्यहाँ किराना पसल सुरु ग¥यौँ’, उनी भन्छन्, ‘हाम्रो जीवनको ‘टर्निङ प्वाइण्ट’ यही हो । यहाँसम्म आइपुग्दा राइट टाइममा राइट डिसिजन लिन सक्यौँ भने सफल भइन्छ भन्ने पाठ सिकियो ।’

शक्तिचोकको पसलमा बुबा, आमा र चार दाजुभाइ व्यापारमा खटिन्थे । ‘सुरुमा एउटा ट्याक्टर किनेका थियौँ । म त्यसमै सामान किन्न र बेच्न पनि हिँड्थेँ । अर्कोबर्ष एउटा मिनीट्रक किन्यौँ । अर्को बर्ष फेरि अर्को एलपी ट्र किन्यौँ । फेरि अर्को बर्ष अर्को एलपी ट्रक किन्यौँ’, उनी भन्छन्, ‘हामी दाजुभाइ ट्रकमा सामान किन्न र बेच्न हिँड्ने, बुबाआमा पसलमा बसेर सामान बेच्ने । यसरी धेरै बर्ष बित्यो । तर पछि पसलमा बसेर मेनेज गर्नुपर्ने देखियो, अनि म पसलमा बसेर ग्राहक मेनेज गर्ने, भाइहरु गाडीमा हिड्ने गर्न थालियो ।’ तन, मन, धन लगाएर व्यापारमा खट्ने बारेमा घर परिबार एक ढिक्का भयो ।

No description available.

शक्तिचोकको व्यापारले अपार सफलता पाएपछि २०६० सालमा हाल पसल रहेको ठाउँ हरमटारीमा सरेको उनी बताउँछन् । ‘जुनकुनै मान्छे सफल हुनका लागि सबैभन्दा पहिले त घर परिबार एकढिक्का हुनुपर्छ’, उनी आफ्नो अनुभव सुनाउँछन्, ‘जस्तो, हामी सबै दाजुभाइ बिहान छ बजेदेखि राती आठ, नौ बजेसम्म १४, १५ घण्टा निरन्तर खट्छौँ । मनग्य पैसा कमाएर फुर्तिफार्ती गर्दै हिँड्ने, फुर्मास गर्दै हिड्ने, धाकधक्कु र रवाफ लगाउने, तडकभडक गर्ने, जीवनशैली भड्किलो बनाउने काम हामी कसैले पनि गरेनौँ । म जेठोबाठो, मैले नै सादा जीवन, उच्च बिचार अपनाएपछि भाइहरु सबै मेरै लाइनमा छन् । अहिले सबै दाजुभाइको बिबाह भयो । बिहे गरेर आउने श्रीमती, बुहारीहरु पनि सादा जीवन उच्च विचारमा रमाइरहेका छन् ।’ परिबारका सबै सदस्यहरु व्यापार, व्यवसायमा उत्तिकै खट्ने भएकाले सफलता पनि आफ्नै बशमा रहेको उनको भनाइ छ ।

ब्यापार, व्यवसाय सफल हुनका लागि उनले अर्को सिद्धान्त पनि अपनाए । भन्छन्, ‘सफल हुनका लागि एम–फोरको अति आवश्यक पर्छ । त्यो भनेको मनी, म्यानपावर, मेटिरियल र म्यानेजमेण्ट । यही तारतम्म मिलाउन सकेकाले नै सफल भएका हौँ’, उनी भन्छन् ।
लामो व्यापार, व्यवसायका क्रममा धेरै हण्डर ठक्कर भने नखाएको होइन, तर काली किनारका ढुंगा धेरै हण्डर र ठक्कर खाएर शालिग्राम कहलाएको उनले राम्ररी बुझेका छन् । ‘हामी बाहिरबाट आएर संघर्ष गर्नेलाई यहाँ टिक्नखान धेरै अप्ठ्यारो पार्ने काम भएको थियो’, उनी भन्छन्, ‘तर आफूले गल्ती नगरेको हुँदा डेग चल्नु परेन । खाटो बसिसकेको घाउलाई नकोट्याउँदै फाइदा हुन्छ ।’

व्यापारमा सफलता पाउनमा उनको परिबारसित अरु सिद्धान्त पनि छन् । ‘व्यापार विश्वासमा अडेको हुन्छ । विश्वासमा शंका लाग्ने ठाउँ कत्तिपनि राख्नु हुदैन’, उनी भन्छन्, ‘सबैमा यो लागु नहुनसक्छ, तर हामीलेचाहिँ उदारो कारोबार चाहिँ एकदम कम गरियो । ग्राहकलाईचाहिँ कहिलेकहीँ उदारो दिइयो होला, तर हाम्रा साहुसँग सँधै नगदी कारोबार गरियो । नगदी कारोबार गर्दा सामान एकदुई पैसा सस्तो पनि पाइन्थ्यो । अनि हामीले एकदुई पैसा सस्तैमा बेच्थ्यौँ ।’ कामदार र फोनमा भन्दा पनि आफै खट्ने, नगदमा कारोबार गर्ने र सस्तो दरमा कारोबार गरेकाले अहिले ‘खोप्लाङी साहु’को नामले इज्जत प्रतिष्ठा कमाउन सफल भएको उनको निश्कर्ष छ । ‘साहु पल्टेर बस्यो भने व्यापार, विजनेश उँभो लाग्दैन’, उनी भन्छन्, ‘हामी त मजदुरको पनि महामजदुर हो । मजदुरको त काम गर्ने टाइम हुन्छ । तर हाम्रो कुनै टाइम हुदैन । सँधै खटिरहनुपर्छ ।’

थोरै कमाउँदैमा रवाफिलो र भड्किलो जीवन शैली जिउन थाले दीगो रुपमा सफल हुन नसक्ने उनको बुझाइ छ ।
सामाजिक सेवाका काम गर्ने रहर नभएको होइन, तर व्यापार, व्यवसायबाट निस्कन नपाउने भएकाले समय दिन नसकेको मनकाजी बताउँछन् । ‘धेरैतिर हात हाल्यो भने कतैपनि सफल नहुन सक्छ, बरु एकठाउँमा हातहाल्ने, त्यसमा सफल बनेर देखाउने भनेर धेरैतिर समय नदिएको हो’, श्रेष्ठ भन्छन्, ‘उद्योग वाणिज्य संघको कार्यसमितिमा छु । त्यहाँ पर्याप्त समय दिएको छु । नभ्याउने ठाउँमा पद मात्र लिएर हुदैन भन्ने मेरो मान्यता छ ।’

प्रतिक्रिया दिनुहोस्