
संविधान दिवसमा गोरखामा भएको खुल्ला दौड प्रतियोगितामा नवराज गुरुङ पहिलो
गोरखामा संविधान दिवसको अवसरमा भएको खुल्ला दौड प्रतियोगितामा नवराज गुरुङ प्रथम भएका छन् । लियो क्लव अफ गोरखाद्वारा आयोजित खुल्ला दौड प्रतियोगितामा गुरुङ पहिलो भएको हो ।
लियो प्रतिक्षालय लक्ष्मीबजारदेखि बसपार्क सम्मको ४ किलोमिटर दुरी उनले १८ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए । गुरुङले नगद पाँच हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । खुल्ला दौड प्रतियोगितामा निर्धारित दुरी १९.१३ मिनेटमा पार गरी निरज भट्ट दोस्रो र १९.३२ मिनेट निर्धारित दुरी पार गर्दै सन्दिप ढकाल तेस्रो बने । उनीहरुले क्रमश नगद ३ हजार, २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । सान्त्वना हुने खेलाडीहरुलाई नगद एक हजार वितरण गरिएको थिाये ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुख्य नाराको साथ संविधान दिवसको अवसरमा खुल्ला दौड आयोजना गरिएको कार्यक्रमका संयोजक कोपिला गुरुङले जानकारी दिइन् ।
क्लवका अध्यक्ष बालकृष्ण परियारको सभापतित्व तथा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, लियो क्लव अफ गोरखाका संस्थापक अध्यक्ष लायन शितलकाजी मास्के, लियो एड्भाईजर लायन श्यामबाबु श्रेष्ठ, लियो क्लव अफ गोरखाका पूर्व अध्यक्ष लियो लायन यम बसेल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख केदार खनाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।