| शुक्रबार, बैशाख २१, २०८१

गोरखाका ४४ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाए, ४ जनाले बुझाउन बाँकी

गत मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका गोरखाका ४९ जनामध्ये ४४ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार सोमबार कार्यालय समयसम्म ४४ जना उम्मेदवारले मात्र चुनावी खर्च विवरण बुझाएका हुन् ।

जसमा सबैभन्दा धेरै चुनावी खर्च गोरखा क्षेत्र नं २ मा गठबन्धन तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रहेको छ । उनको चुनावी खर्च कुल २२ लाख ६४ हजार पाँचसय रहेको छ । तीमध्य सवारी खर्च तीनलाख ६० हजार, प्रचारप्रसार खर्च ५ लाख ५० हजार, गोष्ठी अन्तरक्रिया खर्च १ लाख ६२ हजार ५ सय रहेको छ । त्यस्तै अन्य प्रसारप्रसार खर्च तीनलाख १५ हजार, कार्यालय संचालन खर्च एकलाख ४७ हजार सय र प्रतिनिधि परिचालन खर्च ७ लाख ३० हजार रहेको कार्यालयलले जनाएको छ ।

त्यस्तै, गोरखा १ का प्रतिनिधिसभाका विजयी उम्मेदवार राजेन्द्र बजगाईले १६ लाख ५३ हजार खर्च गरेको विवरण पेश गरेका छन् भने, गोरखा १ प्रदेशसभा १ का विजयी उम्मेद्वार कृष्णप्रसाद धिताल ११ लाख ९० हजार खर्च गरेको विवरण पेश गरेका छन् । त्यस्तै गोरखा १ प्रदेशसभा २ का विजयी उम्मेदवार नन्दप्रसाद न्यौपानेले २० लाख ८९ हजार ४ सय खर्च गरेको विवरण पेश गरेका छन् ।

अर्का गोरखा २ प्रदेशसभा १ का विजयी उम्मेद्वार फणिन्द्र देवकोटाले १४ लाख ९२ हजार खर्च गरेको विवरण पेश गरेका छन् भने गोरखा २ प्रदेशसभा २ का विजयी उम्मेद्वार सुरेन्द्रराज पाण्डेले १२ लाख ९९ लाख खर्च गरेको विवरण पेश गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

गोरखा १ का प्रतिनिधिसभा सदस्यका एमालेका उम्मेद्वार रामशरण बस्नेतले १३ लाख ६५ हजार, गोरखा १ प्रदेशसभा १ का उम्मेद्वार सुरेन्द्रबहादुर थापाले आठलाख २० हजार, गोरखा १ प्रदेशसभा २ का उम्मेद्वार मोहनप्रसाद भट्टराईले ६ लाख ९४ हजार र गोरखा २ को प्रदेशसभा २ का एमालेका उम्मेद्वार राजु रानाले पाँचलाख चारहजार खर्च गरेको भनेर विवरण पेश गरेका निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

त्यस्तै राप्रपाका उदय भट्टले ६ लाख ५ हजार, सोमनाथ अधिकारीले २ लाख ८० हजार र सुशील पन्तले पाँचलाख चारहजार, अर्का उम्मेद्वार उत्तरबहादुर खड्काले ५ लाख ३७ हजार, स्वतन्त्रका रामशरण आचार्यले तीनलाख १८ हजार ५ सय, डाकबहादुर पराजुलीले तीन लाख ८४ हजार, हरि पोखरेलले दुईलाख नौ हजार, सुवर्ण रोकाहाले एक लाख ३२ हजार, रुपेश राना ६० हजार र सफिदिन मियाँले ३५ हजार रुपैया चुनाव खर्च गरेको भन्दै विवरण बुझाएका छन् ।

देबबहादुर थापाले एक लाख ४५ हजार, रामबहादुर घलेले एक लाख ५० हजार, कुलबहादुर बस्नेतले ४३ हजार, ठाकुरप्रसाद लामिछानेले ५० हजार, सरिता देवकोटाले १२ हजार ५ सय, हरिराम अर्यालले १५ हजार र सुवोध बस्न्यातले ५ हजार रुपैयाँ मात्र खर्च गरेको भनेर विवरण बुझाएका छन् । टिकादत्त पोखरेलले ८५ हजार, विनोदकुमार गुरुङले ३ लाख ५६ हजार पाँचसय, विष्णुबहादुर कुँवरले ९८ हजार ९ सय रुपैया, रामचन्द्र कुमालले एकलाख ६ हजार ६ सय, सुदीप ढकालले एकलाख ५० हजार, मिनकुमार श्रेष्ठ १० हजार, विपिका बराम गुरुङले ४१ हजार तीनसय, बिलबहादुर तामाङ लामाले २ लाख, नारायणबाबु आचार्यले १२ हजार, सरोज गिरीले ४१ हजार, रामबहादुर लामा ८५ हजार, गणेशबहादर रानाले ७० हजार, सोमबहादुर गुरुङले ४० हजार र राजेन्द्र शाहले १ लाख ६० हजार रुपैया चुनावी खर्च विवरण बुझाएको कार्यालयका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

त्यस्तै, प्रहल्लाद लामिछाने, लिलाकुमारी बुढाथोकी र प्रकाश थापाले भने चुनावमा एक रुपैया पनि खर्च नभएको विवरण बुझाएको उनले बताए ।

निर्वाचन आयोगले गत मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ, तर नेकपा एमालेबाट गोरखा २ मा उम्मेद्वार बनेका अव्दुश मियाँ र वसन्त गुरुङ, स्वतन्त्र पार्टीबाट गोरखा २ मा उम्मेद्वार बनेका कवीन्द्र बुर्लाकोटी र गणेश देवकोटाले भने अझै निर्वाचन खर्च बुझाएका छैनन् ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत पेस गर्नुपर्नेछ । निर्वाचन प्रचारप्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्छ ।

निर्वाचन खर्च विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुोष्ठी तथा अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एव विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय संचालन र प्रतिनिधि परिचालन लगायतका शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूले २५ लाखदेखि अधिकतम ३३ लाख रूपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।

आयोगले निर्वाचन क्षेत्रका मतदाताको संख्या (६० प्रतिशत), भौगोलिक क्षेत्रफल (२० प्रतिशत) र मतदान केन्द्र (२० प्रतिशत)का आधारमा मापदण्ड तय गरी निर्वाचन खर्च निर्धारण गरेको थियो । त्यस्तै प्रदेशसभातर्फका प्रत्यक्ष उम्मेदवारहरूले १५ लाख देखि अधिकतम २३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

आयोगले विभिन्न सूचकका आधारमा निर्वाचन क्षेत्रहरूलाई पाँच भागमा वर्गीकरण गरी प्रतिनिधिसभातर्फ पाँचवटा क्षेत्रमा २५ लाख रूपैयाँ, १७ वटा क्षेत्रमा २७ लाख रूपैयाँ, ६५ वटा क्षेत्रमा २९ लाख रूपैयाँ, ५२ वटा क्षेत्रमा ३१ लाख रूपैयाँ र २६ वटा क्षेत्रमा उम्मेदवारहरूले अधिकतम ३३ लाख रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको थियो ।

प्रदेशसभातर्फ ७० वटामा १५ लाख रूपैयाँ, १४३ वटामा १७ लाख रूपैयाँ, ५६ वटामा लाख रूपैयाँ, २९ वटामा २१ लख रूपैयाँ र ३२ वटामा अधिकतम २३ लाख रूपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । विसं २०७४ सालमा प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारहरूले अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा तय गरिएको थियो ।

दुई प्रतिनिधि चार प्रदेशसभा रहेको गोरखामा बाँकी उम्मेदवारले मत परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण पेस नगर्ने राजनीतिक दल र उम्मेदवारहरूलाई जरिवाना गर्नसक्ने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले छ ।

प्रतिक्रिया दिनुहोस्