| आइतवार, अशोज ७, २०८०

सिरानचोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता उद्घाटन

गोरखाको सिरानचोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा प्रदेशसभाका विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

‘खेले मानिसलाई अनुशासनपनि सिकाउँछ’ नेता पाण्डेले भने ‘खेल क्षेत्रमा राम्रो गर्नेहरुले यसलाई ब्यवशायीक रुपमा पनि अघि बढाउन सक्नुहुन्छ, यो एउटा अवसर सिर्जना गर्ने ठाउँ पनि हो ।’ खेलले खेलाडीहरुमा सामाजिक सद्भाव, मेलमिलापपनि बढाउने उनले बताए । नेपा पाण्डेले हरेक विद्यालयमा खेल शिक्षक अनिवार्य गर्नुपर्ने, शिक्षा क्षेत्रको बिकासकालागि पनि आफुले गण्डकी प्रदेश सरकारमा रहेर सक्दो सुधारको प्रयास गर्ने बताए । साथै उनले खेल क्षेत्रको बिकासमा पनि जोड दिने बताए ।

वडा नं ८ जौवारी स्थित परोपकार आर्दश माविमा तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ५ गते संचालन हुने गाउँपालिका सूचना अधिकारी अहमददिन मियाँले बताए । तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पालिका भित्रका माविस्तरीय १५ वटा सामुदायिक विद्यालय र एक निजी विद्यालय गरी १६ वटा विद्यालयका विद्यार्थी १५ खेलमा प्रतिस्पर्धा गरिहेका छन् । प्रतियोगितामा भलिबल, हाइजम्प लङजम्प, छेलो, कवडी, रिले दौड लगायत खेलमा करिब चार सय भन्दा बढी खेलाडी प्रतिस्पर्धा गरिरहेको उनले बताए ।

खेलाडीहरुको शारीरिक, मानसिक, संवेगात्मक विकास गराउन र भविष्यमा देशको लागि राम्रो खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङशील्ड प्रतियोगिता आयोजना गर्दै आएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए । अव पालिकाबाट छनौट भएको खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा सहभागि हुनेछन् ।

त्यसपश्चात जिल्ला हुदै प्रदेश र केन्द्रमा प्रतिस्पर्धा गर्नेछन् ।

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षता तथा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा प्रदेशसभाका विपक्षी दलका नेता सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका शिक्षा अधिकृत मोतिमाया ढकाल, पुर्व जिल्ला विकास समितिका सभापति चेतमान श्रेष्ठ, पालिका उपाध्यक्ष रिता देवकोटा, वडा अध्यक्ष दलमान गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्