
तीन÷चार महिना सम्म तलब पाउँदैनन् गोरखाका शिक्षक
निजामती होस् या संस्थानका कर्मचारी सबैले मासिक तलब लिन्छन् । स्थापित निजी क्षेत्रका संघ संस्था, उद्योगहरुलेपनि मासिक तलब दिन्छन् । तर शिक्षकले भने अहिले पनि छिटोमा तीनदेखि चार महिनापछि मात्रै तलब पाउने गरेका छन् ।
हरेक महिना शिक्षकलाई तलब दिने निर्णय गरेको गोरखा नगरपालिकाले अहिले कात्तिकदेखि तीन महिनाको तलब निकासा गर्न सकेको छैन ।
गोरखाका कतिपय पालिकाले तीन–तीन महिनामा त केहीले चार महिनामा शिक्षकलाई तलब दिँदै आएका छन् । गाउँपालिकाका अन्य कर्मचारीलाई मासिक तलब दिने र शिक्षकलाई त्रैमासिक÷चौमासिक दिने गर्नु बिभेद भएको गुनासो शिक्षकहरुको छ ।
धार्चे गाउँपालिका भित्र सबै गरेर २५ वटा सामुदायिक विद्यालय छन् । ति विद्यालयमा अध्ययनरत २ सयभन्दा बढी शिक्षकहरुले विगत तीन महिना देखि तलब पाएका छैनन् । पालिकाबाट तलब निकास नभएको उनीहरु बताउँछन् । कोष लेखा नियन्त्रक कार्यालय गोरखालाई पालिकाबाट शिक्षकको तलब निकासका लागि पत्र पनि पठाइसकेको तर कोलेनिकाले फुकुवा नगरेकाले दिन नपाएको धार्चे गाउँपालिका शिक्षा शाखा अधिकृत ताराप्रसाद आचार्यले बताए । शिक्षकको तलब निकासका लागि पालिकामा कुनै समस्या नभएको बताउदै फुकुवा भएलगत्तै तलब निकास गर्ने उनले बताए ।
४६ वटा विद्यालयमा करिब तीन सय ३५ जना शिक्षक रहेको शहिदलखन गाउँपालिकामा पनि शिक्षकले तलब पाएका छैन । विगत तीन महिना देखि शिक्षकलाई तलब निकास गर्न नसकिएको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत राजेन्द्र खनालले बताए । एक त्रैमासिकमा करिब तीन करोड पैसा खर्च हुने गरेको बताउँदै शिक्षकलाई तलब निकासका लागि आन्तरिक तयारी सबै सकिएको उनले बताए ।
गण्डकी गाउँपालिकामा गत पुस २० गते तलब निकासाको तयारी गरिएपनि स्विकृत नहुदा तलब खुवाउन नसकिएको पालिकाका शिक्षा अधिकृत सुदिप पन्तले जानकारी दिए । पालिकासँग एक करोड रहेको र शिक्षकलाई तलब खुवाउन साढे तीन करोड रुपैयाँ आवश्यक पर्ने उनले बताए । त्यहाँ ४४ वटा विद्यालयका रहेका छन् ।
बारपाकसुलिकोट गाउँपालिका शिक्षा संयोजक भिम कुमार श्रेष्ठले पालिका शिक्षकलाई तलब खुवाउन बाँकी रहेको बताए । तलब निकासका लागि सबै विद्यालयले माग फाराम पालिकामा पेश गर्नुपर्ने तर अभैm दुई वटा विद्यालयले उक्त फाराम पेश नगर्दा रकम निकासमा ढिलाई भएको उनले बताए । सबैको कागजपत्र पुरा भएपछि तलब निकासा हुने उनले बताए । यहाँ ३७ वटा विद्यालयमा करिब तीन सय भन्दा बढी शिक्षकलाई एक त्रैमासिकमा करिब दुई करोड भन्दा बढी तलबमा खर्च हुने गरेको उनले बताए ।
त्यस्तै, अजिरकोट गाउँपालिकाका शिक्षा अधिकृत सिताराम पन्तले माघको दोस्रो हप्तामा सबै शिक्षकको तलब निकास हुने बताए । त्यहाँ पनि अहिले सम्म शिक्षकले तलब पाएका छैनन् ।
भिमसेन थापा गाउँपालिकाका शिक्षा अधिकृत यानबहादुर नेपालीले पालिका भित्रका शिक्षकलाई तलब निकासाका लागि दुई करोड अपुग भएका कारण अहिले दिन नसकिएको बताए । कोलेनिकाले पठाए पछि तलब निकास गर्ने उनले बताए ।
पालुङटार नगरपालिमामा पनि बजेट अभावले शिक्षकहरुले तलब पाएका छैनन् । तीन महिना देखि तलब खुवाउन नसकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।
चुमनुब्रीमा भने चार÷चार महिनामा तलब वितरण वितरण गर्ने गरेको बताउदै तलबको कुनै समस्या नभएको पालिकाको शिक्षा शाखा प्रमुख बासुदेव वलीले बताए । चुमनुब्रीमा कार्तिक, मंसिर, पुस र माघको तलब विद्यालयको माग फारामको आधारमा फागुनमा हालिदिने गरेको उनले बताए ।
शिक्षकहरुको तलब शसर्त अनुदानको बित्तिय हस्तान्तरणको माध्यामबाट कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले स्थानीय तहको खातामा पठाउँछ । त्यसरी पठाएपछि पालिकाहरुले शिक्षकहरुको तलब विद्यालयको खातामा पठाउने र विद्यालयले शिक्षकको खतामा पठाउँदै आएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका प्रमुख महेन्द्र भण्डारीले निकासामा कुनै समस्या नरहेको बताए ।