| शुक्रबार, बैशाख २१, २०८१

क्षयीकरणवाट बच्नुपर्ने बौद्ध वाङ्मय

लेविन्द्र गुरुङ

इशापूर्व ६२३ बैशाख पूर्णिमाको दिन शुद्धोदनकी महारानी मयादेवीको कोखवाट जन्मेका बालक, सिद्धार्थले २९ वर्षको उमेरमा एकजना रोगी, वृद्धमान्छे, मरेकोमान्छे र सन्यासीलाई देखेको कारण वैराग्यभाव उत्पन्नभई आफ्नो कोमल स्वभाव, प्राणीहरूप्रतिको करूणा, जीवनप्रतिको उदासीनता, दुःखको अनुभूतिले जन्म, जरा, व्याधि र मरणरूपी दुःखबाट सदाको लागि मुक्ति पाउन गृहत्याग गरे ।

सिद्धार्थले गृहत्याग गरेको खबर सुनेर अन्य पाँचजना साथीहरू कोण्डण्य, वप्प, भदिय, महानाम र अस्सजी (पञ्च भद्रवर्गीय) ले पनि गृहत्याग गरे । त्यसपछि ६ वर्षसम्म विभिन्न सन्यासी, ऋषि र तत्कालीन दिग्गज गुरूहरूसँग शिक्षा–दीक्षा लिए तर सिद्धार्थले खोजेको ज्ञानप्राप्त नभएपछि निरहार स्वध्यानमा बसे । त्यसपछि पनि ज्ञानप्राप्त भएन बरु शरीर कम्जोर भएर भुईमा ढल्न पुगे र उनले बुझे जीवित रहनको लागि भोजनको अपरिहार्य छ । त्यसरी निराहारव्रत भंगगरेको देखेर सेवासुश्रुषा गर्ने पाँचजना साथीहरूले सिद्धार्थलाई छाडिदिए ।

सिद्धार्थ एउटा ठूलो पीपलको रूखमुनि आराम गरीरहेको समयमा सुजाता भन्ने एउटी सुन्दरी कन्याले बनदेवीको लागि चढाउन ल्याएको खीर साक्षात वृक्षदेवता सम्झेर पूजासत्कार गरी त्यहाँ बसिरहेका सिद्धार्थलाई खुवाईन । उक्त भोजनले त्राण मिल्यो, शक्तिपैदा गराईदियो र उर्वेला वनको नैरन्जना नदिकिनारमा निर्दिष्ट लक्ष्य प्राप्तिको लागि ध्यानमा बसे । बैशाख पूर्णिमाको रातमा सम्यक सम्बुद्ध हुनुभयो ।

त्यसपछि पञ्च भद्रवर्गीय ब्राम्हणहरू बनारस, सारनाथको मृगदावनमा रहेको थाहा पाएपछि उतैतिर प्रस्थान गर्नुभयो । सबैभन्दा पहिले उनीहरूलाई ‘धर्मचक्र पवर्तन सुत्र’ जसमा ‘चार आर्य–सत्य’ संसार दुःखमय छ, दुःखको कारण तृष्णा, दुःखको निरोध निर्वाण, दुःख निरोध हुनेमार्ग (उपाय) पनि छ । ती उपाय आर्य अष्टांगिक मार्ग हो जुन — सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि, सम्यक दृष्टि र सम्यक संकल्प । त्यससँगै ‘आर्य अष्टांगिक मार्ग’ अर्थात ‘मध्यम मार्ग’ को अनुशरण र अभ्यास गर्ने शिक्षा पनि दिनुभयो ।

अति सुखको अवस्थामा रही प्रमादमा भुल्नु र शरीरलाई अति दुःखदिई मोक्षप्राप्त गर्छु भनी अनावश्यक हथकण्डा अपनाउनु । ती दुबै अतिलाई त्यागेर मध्यमार्ग अपनाउन पनि सुझाव दिनुभयो । यसरी निरन्तर ४५ वर्षसम्म अथक प्रयासले बहुजन हिताय बहुजन सुखायको लागि धर्मदेशना गरी ८० वर्षको उमेरमा भारतको कुशीनगरमा महापरनिवार्ण गर्नु भयो ।

भगवान वुद्धको महापरनिर्वाण पछि तेश्रो संज्ञानसम्म मुख्य–मुख्य अहर्त शिष्यहरुले बुद्धवचन तथा विनयसंग्रह कण्ठस्थ पारे, चौथो सन् ८३ मा श्रीलंकामा भएको धम्मसंगीतीमा ताडपत्रमा लेखाए, पाँचौ सन् १८७१ मा बर्मामा भयो, त्रिपिटकलाई ढुङ्गामा कुंदियो र छैटौं संज्ञान १९५६ मे १७ बर्माका प्रधानमन्त्री यु नुको संरक्षणमा त्रिपिटक कागजमा लेखाईयो । श्रीलंका, थाईल्याण्ड, लावस, भियतनाम, बर्मालगाएतका देशहरुमा पहिलो शताव्दीदेखि नै थेरावादा मतमा नै स्थीर रहिरहे ।

त्यसै समयमा चीन पुगेको बौद्ध धर्म त्यहाँबाट इ.स.५२८ मा कोरिया र छौटौं शताव्दीमा जापान पुग्यो र ती मुलुकका अनुयायीहरु महायानी बने । नेपालमा तान्त्रिक शाक्त सम्प्रदाय र तिव्वतको बोन धर्मसंग बौद्धको मिश्रण भएपछि नयाँपन्थ बज्रयानी नेपाल, तिव्वत र उत्तरी भारतमा विस्तार भएको हो । यसरी संसारमा थेरावादा, महायानी र बज्रयानी सम्प्रदायहरु बन्न पुग्यो सार्वजनिक फोरमहरुमा वुद्ध जन्मेको देश नेपाल भनेको सुन्न पाईन्छ तर वुद्ध जन्मस्थल नेपालको लुम्विनी नै भएको प्रमाण १२७ बर्षअगाडि (सन् १८९६) मा मात्र जर्मन पुरातत्वविद फुररले पत्ता लगाएका थिए भन्ने त कमैलाई थाहा होला । हाम्रा विद्यालयका पाठ्यक्रमहरुमा एकपृष्ठसम्म पनि वुद्धदर्शन र वुद्धबारे समेट्ने प्रयास नहुनु उपेक्षा नै हो । बौद्ध धर्मको महत्वपूर्ण ग्रन्थ त्रिपिटक वा तीनवटा टोकरी, सुत्तपिटक वुद्धको उपदेशहरुको संकलन, विनय पिटक भिक्षुहरुको अनुशासन नियमहरु र अभिधम्म पिटक बुद्ध दर्शनका बारे परिभाषामा छन् तर यो भोटेहरुको धर्म भन्ने लोकबुझाईले गर्दा होला नेपाली भाषामा पुरै अनुवाद हुन अझै धेरैबर्ष पर्खनु पर्ने देखिन्छ ।

कोलियराज्य र शाक्यसंघको बीचमा रोहिणी नदीको पानीको विबादहुँदा कि कोलियसंग पराजित हुने या राज्यवाट निष्कासन हुने भएकोले सिद्धार्थ आफै वनबास गएको भनार्इ, बोधिज्ञान प्राप्तगर्नु अगाडि सुन्दरी कन्या सुजाताले खिर खुवाएको सन्दर्भले पंचभद्रीय सहयोगीहरुले छाडेर मात्र गएनन् उनी ध्यानको लागि निरहार बस्दैनन् ती सुन्दरीसंग मुस्कुराएर वोल्छन, भिक्षाटन गर्ने निहुँमा गाउँगाउँ जान्छन् । जस्ता आरोपहरु केका लागि रु मध्येयुगमा बज्रयानी सम्प्रदायमा बौद्ध विहारहरुमा देखिएको व्यभिचार र अहिले गुम्वाका आनीहरु गर्भवती भएको, दुर्वेशनीमा लागेका विषयलाई अतिरंजित गराईन्छ ।

वुद्धले महाप्रजापति गौतमीलाई प्रव्रज्या दिने समयमै महिलालाई अनुमति दिने हो भने व्रह्मचार्य चिरस्थायी हुन सक्दैन यदी प्रव्रज्या लिनेभए गरुधम्म (गहकिलो आठवटा) सर्तहरु पालना गर्नु पर्ने भएकाले प्रजापति गौतमिले सर्त पालना गरेर मात्र प्रव्रज्या लिएका थिए । धर्ममा तर्कभन्दा श्रद्धाले कामगर्ने हुनाले त्यति खोजतलास त हुंदैन र अन्य सम्प्रदायसंग तुलानागर्नु यस आलेखको मर्म पनि होईन तर १७ जनवरी २०१४ मा इटलीको रिटी शहरमा ननले आफ्नै चर्चमा पादरीको बच्चा जन्माए ।

क्याथोलिक चर्चबाट अफ्रिकाको धार्मिक अभियानमा गएका दुईजना ननहरु गर्भवती भई एकजनाले त्यहीं वच्चा जन्माएका कारण फर्किएका थिए (द इन्डेपेण्डेन्ट।को।युके, ६ नेभेम्वर २०१९) । यस्ता घटनाहरु त प्रतिनिधि उद्धाहरण मात्र हुन, बरू यसले के प्रमाणित गर्दछ भने व्रह्मचार्य किमार्थ चिरस्थायी हुँदैन र छैन । हिन्दुमतमा त यस्ता घटनाहरु गर्वकासाथ महिमा गान गाईन्छ एउटा ऋषिको विर्य पतन भएको पोखरीको पानी पिउँदा हरीण गर्भवती भएको । युवा देवदत्त ऋषि र प्रम्लोचा अप्सराको प्रेमसम्वन्धवारे त एउटा रोचक पुस्तकै बने ।

यसरी बौद्ध धर्ममाथी हमला भैइनै रहयो । बंगालका शैव शासक शशांकले कन्याकुव्जमा हमला गर्दा गयाको बोधीवृक्ष नै उखेलेर फ्यांकी दिए (द वकण्डर द्याट वाज इन्डिया) । बाह्रौं शताव्दीका मुसलमान शासक बख्तियार खिल्जीका आक्रमण गंगासम्म आईपुग्दा विहारको नालन्दा र विक्रमशीलाका बौद्ध मठमन्दिरहरु मात्र होईन हिन्दुको तिर्थस्थलहरु पनि ध्वस्त बनाएका थिए तर पूर्ननिर्माण र पूर्नजीवनकालमा हिन्दुहरु अरु प्रभावशाली देखिए भने बुद्धमार्गीहरु नेपालमण्डल (काठमाण्डौ) भित्रमात्र सिमित हुनपुगे ।

राजनीतिक र संस्कृतिक परिवर्तनहरुको साक्षी भएर लुप्त भएको थेरवाद वि. स. १९८० मा नेपालमा प्रवेश भए र ३ जना (रत्नपाली, धर्मपाली र संघपाली) महिलाले प्रव्रज्या लिने मौकापाए तर थेरवादमा भिक्षुणी संघ हराईसकेको र भिक्षुणी शव्द पनि नभएको भन्दै विकल्पमा उनीहरुलाई अनागारिका भन्ने पदावली दिए । त्यसैमा पनि प्रसिद्ध डा. भिक्षु सुनन्दले त “वुद्धधर्म आचरण” सम्वन्धी आफ्नो पुस्तकमा अनागरिका वा भिक्षुणी बन्ने प्राब्धान नै छैन भन्न भ्याए ।

अभियानलाई स्वयं प्रव्रजित जीवन विताउने उपासिकाहरुले विहार (गुम्वा)मा वस्दै दान लिने, अशिर्वाद दिने र परित्राणपाठ गर्ने गर्दैजाँदा गृहत्याग गरिसकेका पहेंलो वस्त्रधारी व्यक्तिहरुलाई अनागरिका भनेर पुग्दैन उनीहरु भिक्षुणी नै हुन् भनि भिक्षु अश्वघोषले धर्मकृतिको वर्ष १५ अंक ७, कार्तिक २०५४ सालमा प्रकासित गरिदिएपछि वौद्ध धर्मभित्र प्रवेश गर्न लागेको लैंगिक भेदभावलाई रोक्ने काम भएको थियो ।

यसरी जातपात र लिङ्गभेद नभएको भनिएको बौद्ध धर्ममासमेत पुरुषवादी अहमले लठ्ठीएका विद्वानहरु देखा परिरहन्छन् । संस्कार, संस्कृति भित्र धर्म खोज्ने जातजातिको पहिचानलाई पनि त्यसैमा जोडेर टिकाटिपणी गर्नुभन्दा बुद्धबचनहरु सुनौं–सुनाऔं, सबैको लागि फलदायी हुन सक्छ । बहुभाषिक, बहुधार्मिक, बहुजातिय र बहुलवादीय मुलुकहरुमा त एकआपसमा धार्मिक, सांस्कृतिक सहिष्णुता अपरिहार्य नै छ, सबै नेपाली जनबाट सकारात्मक सन्देश प्राप्तीको लागि २५६७ औं वुद्धजयन्तीको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्