भ्रम छरेको भन्दै नारेश्वरका बासिन्दाले सच्चाइ हटाए, सत्संग सञ्चालन गर्ने तयारी
गोरखा नगरपालिका ३ नारेश्वरका बासिन्दाले गाउँमा सञ्चालित सच्चाईकेन्द्र बन्द गराएका छन् । गाउँमा भ्रम छरेको भन्दै स्थानीयले दुईठाउँमा सञ्चालित सच्चाइकेन्द्र बन्द गरेका हुन् ।
घलाङको बेनिखोलास्थित सच्चाइ केन्द्र र घलाङ रातामाटा केन्द्र बन्द गराएको सानुकाजी बस्नेतले जानकारी दिए । ‘हिन्दू धर्म, संस्कार, संस्कृति मान्न पाइन्छ । दशैँ, तिहार पनि मान्न पाइन्छ भन्ने तर हामी प्रभु पिता परमेश्वर जिसस क्राइस्टका सन्तान हौँ भनेर बाइबल पढाउने गर्दा रहेछन्’, उनले भने, ‘कि हामी क्रिस्चियन हौँ भनेर स्पष्ट रुपमा भन्नु प¥यो, कि हामी हिन्दू हौँ भन्नुप¥यो । जिसस क्राइस्टलाई प्रभु, पिता परमेश्वर मान्ने, बाइबल पढ्ने अनि हिन्दू धर्म संस्कार पनि मान्न पाइन्छ भन्ने ? यस्तो भ्रम छर्न पाइँदैन भनेर हामीले सच्चाइलाई हटाएका हौँ ।’ सच्चाइका धर्मगुरुले आफूहरु क्रिश्चियन नै हो भनेपछि गाउँका बासिन्दाले स्वतस्फूर्त सच्चाइ छाडेका उनले बताए ।
‘हामी गाउँका जागरुक युवाहरुले दुइटा डुंगामा खुट्टा राख्न पाइँदैन, हिन्दू र क्रिश्चियनमध्य तपाईहरु के हो भनेर पास्टरहरुलाई सोध्यौँ । उनीहरुले आफूहरु क्रिश्चियन नै भएको स्पष्ट पारे । अनि भ्रममा परेका गाउँलेहरु प्रष्ट भए । त्यसपछि उनीहरु आफैले अबदेखि सच्चाइ जान्नौँ भनेर जान छोडे ।’ सर्बसाधारणलाई भ्रममा पारेर तथा विभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न नहुने स्थानीयबासीको भनाइ छ ।
विभिन्न स्वास्थ्य समस्यामा परेकालाई उपचार गराइदिने झुठो आश्वासनमा सर्वसाधारणलाई सच्चाइमा लाने गरेको अर्का स्थानीयबासी जीवन खड्काको भनाइ छ । ‘हाम्रो गाउँगाउँ, टोलटोलमा सच्चाइमा गएर प्रार्थना ग¥यो भने सबै बिरामी ठिक हुन्छ भनेर भ्रममा पारेर धर्म परिवर्तन गराएका छन्’, खड्काले भने, ‘दुर्गम गाउँमा धामीझाँक्री लगाएर बिरामीको उपचार गरियो भने अन्धविश्वास हटाउनु पर्छ भन्ने, तर यहाँ सदरमुकामकै आसपासमा यस्तो अन्धविश्वासमा मान्छेको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । अन्धविश्वास, विकृति हटाउन सरकारको पनि ध्यानाकर्षण हुनु जरुरी छ ।
पास्टरको परिबार बिरामी हुँदा अस्पताल जाने, तर सच्चाइमा गयो भने सबै रोग बिसेक हुन्छ भनेर सर्वसाधारणलाई झुक्याएर धर्म परिवर्तन गराउने समस्या गाउँठाउँमा असाध्यै फैलिएको खड्काले बताए । ‘सर्वसाधारणलाई अन्धविश्वासको गुमराहमा राखेर स्वास्थ्य बिगाउर्नु कानूनको दृष्टिकोणले पनि दण्डनीय हुन्छ । यस्तो गर्नेलाई सरकारी नियमक निकायले पनि कारबाही गर्नुपर्छ’, खड्काले भने, ‘हामीले गाउँमा फिँजाइएका अन्धविश्वास हटाउन गाउँमा अभियान चलाएका छौँ । यसमा सरकारले पनि सहयोग गर्नुपर्छ ।’ कतिपय आर्थिक स्थिति कमजोर भएकाहरुलाई एकदुई बोरा चामल दिएर, दुईचार जोर कपडा दिएर फकाईफुल्याई धर्म परिवर्तन गराएको उनले बताए । ‘प्रलोभनमा पारेर धर्म परिवर्तन गराउनेलाई सरकारले कारबाही गर्नुपर्ने हो, खै किन देखेर पनि नदेखे झैँ गर्छ’, उनले भने ।
बिगतका दुईवटा शनिबार दुई ठाउँका सच्चाइ केन्द्र हटाएको अब आउँदा दुई वटा शनिबार बाँकी दुई ठाउँका सच्चाइकेन्द्र हटाउने योजना रहेको सानुकाजी बस्नेतले बताए । ‘घलाङको दुईवटा सच्चाइ केन्द्र हटायौँ । भ्रममा पारेर सच्चाइ केन्द्र लगेकाहरुको संख्या अन्यत्रको भन्दा नारेश्वर भोगटेनीमा धेरै छन् । आउँदो शनिबार त्यहाँ गएर सम्झाइबुझाइ गर्छौँ । क्रिश्चियन कि हिन्दू भनेर प्रस्ट हुन लगाउँछौँ । हिन्दू हो भने सच्चाइबाट फर्काउँछौँ । क्रिश्चियन हो भने चर्चमा जान आग्रह गर्छौँ । यो भ्रम छर्ने ठाउँ बन्द गराउँछौँ ।’
सन्तान नहुनेहरु सच्चाइमा आयो भने सन्तान हुने बनाइदिन्छौँ भनेर भ्रम छर्ने, सर्ने, नसर्ने सबैखालका रोगव्याध निको बनाइदिन्छौँ भनेर धर्मको नाममा बिकृति छरेर सच्चाइमा लगेको स्थानीयबासीको भनाइ छ ।
फुर्सदको समयमा धर्मकर्म गर्न, भजनकीर्तन गर्नमा आनन्द मान्नेहरुका लागि गाउँमा सच्चाइ हटाएर सनातनी धर्मको सत्संग गर्ने स्थल बनाउने योजना रहेको नारेश्वरका बासिन्दाले बताएका छन् । ‘हामी युवाहरु जुटेर सनातन धर्मकै सत्संग गर्ने ठाउँ बनाउँछौँ । भजनकीर्तन गर्ने ठाउँ बनाउँछौँ । अनि सच्चाइ जानेहरु सनातन धर्मकै भजनकीर्तन गरेर धर्म कमाउँछन्’, जीवन खड्काले भने ।