| बुधबार, अशोज १७, २०८०

चिकित्सकहरुको आन्दोलन फिर्ता, स्वास्थ्य संस्थाहरु सुचारु

सरकार र आन्दोलनरत चिकित्सक संघ बीच आइतवार ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने र प्रतिवद्धता जनाएको छ ।

यस्तै चिकित्सकहरूको सेवा सुविधा सुरक्षा जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

यसअघि नेपाल चिकित्सक संघले गोरखासहित देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका थिए । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको थियो ।

उक्त घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गर्न संघले माग गरेको छ । संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । तर सो समयअवधिसम्म पनि कारबाही नगरिएको भन्दै संघले आइतवार सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । डाक्टरहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्