तपाईँको निरन्तर साथ र सहयोगको अपेक्षा …
गोरखा बजारमा अढाइ दशकयता नियमित देखिने गरेका कुराहरुमध्य दरौंदी पत्रिका पनि एक हो । गोरखाको हाल खबर बोकेर सँधै आम पाठकको ढोका ढक्ढक्याउन आउने यो क्रम यहाँहरुकै माया र सद्भावले निरन्तरता पाइरहेको छ ।
विभिन्न आरोह अवरोध पार गर्दै यो क्रमले २५ बर्ष पूरा गरिसकेको छ । आज २६ औं बर्षको सुनौलो विहानीमा यहाँहरु माझ नयाँ बर्षको यात्रा गर्न आउन पाउँदा गौरव अनुभूति गर्दै यसको निरन्तरताको शुभकामना व्यक्त गर्दछौँ ।
२०५५ सालको वैशाख १ गतेदेखि ‘दरौँदी पाक्षिक’ प्रकाशन आरम्भ भएको हो । संस्थापक प्रधान सम्पादक (स्वर्गीय)तुलसीमान श्रेष्ठ तथा त्यसयता साप्ताहिक हुँदै दैनिकसम्मको यात्रामा साथ दिने, यस पत्रिकाका महारथी, रथीहरु सम्मानका पात्र हुनुहुन्छ ।
सरकारी निकायको खोजखबरको पुलिन्दा बोकेर आम सर्वसाधारणमा र आम सर्वसाधारणको खबर खजाना बोकेर सरकारी निकायसम्म पुग्ने यो कार्य आगामि दिनमा पनि चलिरहने अपेक्षा गर्दछौँ । यसका लागि यहाँहरुको माया, ममता, सद्भाव, सहयोग, सकारात्मक टिप्पणी र सुझावहरुले उर्जाको काम गर्दछ ।
अढाइ दशकको यो यात्रामा कयौं सुखद र दुखद क्षण भोग्नु परेको छ, जसको सजीव साक्षी यहाँहरु स्वयं हुनुहुन्छ ।
सूचना र सञ्चारको यो फराकिलो दुनियाँमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, अनलाइन टिभी, युटुव, फेसबुक, टिकटक जस्ता माध्यमहरुको विकास भइसकेका छन्, तथापि यस पत्रिकाले पत्रिकाको विरासतलाई निरन्तरता दिएको छ ।
प्रविधिको विकाससंगै अहिले दरौँदीले अनलाईन सेवालाई पनि जोड दिइरहेको बिषयमा यहाँहरु नै जानकार हुनुहुन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय खबरका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सशक्त रुपमा क्रियाशील नै छन् । गोरखाको स्थानीय स्तरको सूचना तथा समाचार संप्रेषण गर्न यस पत्रिकाले महत्तम भूमिका खेलिरहेका छ ।
भूलचुक मानवीय स्वभाव नै हो । भूलचुक भएकोबारे जानकारी पाएपछि महशुस गर्न सक्नु पत्रकारिताको आचारसंहिताभित्र पर्छ । यसमा हामीले सचेततापूर्वक कर्तव्य निर्वाह गरिरहेका छौँ । आगामि दिनमा पनि भूलचुक भएकामा स–प्रेम आँैल्याइरहनु भएको छ । आगामि दिनमा पनि सद्भाव राखी हामीलाई सच्चिने अवसर प्रदान गरिदिनुहुन विनम्रता पूर्वक अनुरोध गर्न चाहन्छौँ ।
हामी बीचको दोहोरो सुसम्बन्धले अकण्टक रुपमा निरन्तरता पाउनेछ भन्ने अपेक्षासहित यो अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छौँ । धन्यवाद ।
–प्रकाशक