| बिहिबार, मंसिर २१, २०८०

मान प्रतिष्ठा कुल्चने यस्तो भूल फेरिफेरि नहोओस्

गोरखा उद्योग वाणिज्य संघले नेपाल भ्रमण बर्ष २०५४(सन् १९९८)देखि ‘गोरखा महोत्सव’ आयोजना गर्न सुरु गरेको हो । व्यापारी व्यवसायीको साझा संस्था भएकाले संघले भएको आयोजना गर्ने ‘गोरखा महोत्सव’का विषयमा स्थान, समय आदिका विषयमा कहिल्यै विवाद भएको सुनिएन ।

केही बर्षदेखि व्यापारी, व्यवसायीहरुको अर्को साझा संस्था गोरखा च्याम्बर अफ कमर्शले ‘दशैं बजार सस्तो मेला’ आयोजना गर्न थाल्यो । च्याम्बरले आयोजना गर्ने मेलाका विषयमा भने सुरुको बर्षदेखि स्थान र समयका विषयमा बारम्बार विवाद हुन थाल्यो । विवाद जिल्ला प्रशासन कार्यालयसम्म पुग्थ्यो । नगरपालिका कार्यालयसम्म पुग्थ्यो । मेला उद्घाटन हुने दिनसम्म पनि विवाद मिलाउन हम्मेहम्मे हुन्थ्यो । मेलै नहुने हो कि भन्ने अबस्थामा पुगेपछि फेरि सामसुम हुन्थ्यो ।

यसबर्षको दशैंको पूर्वसन्ध्यामा पनि च्याम्बर अफ कमर्शले पूर्ववत दशैं सस्तो बजार मेला आयोजना गर्ने निर्णय ग¥यो । स्थान र समयका विषयमा फेरि विवाद भयो । अन्ततः च्याम्बर पछि हट्यो । अर्को आयोजक लोक दोहोरी प्रतिष्ठानले कार्यक्रम आयोजना गर्ने भयो ।

यस बर्षको आयोजकसँग पनि फेरि चर्को विवाद भयो । विशेषगरी कपडा तथा फेन्सी व्यवसायी संघले मेला आयोजना नगर्न बाधा अड्चन खडा गरिरहेको थियो । फेरि विवाद नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो । मिल्ने वातावरण बनेन । तर एकाएक विवाद साम्य भयो । जुन कारण देखाएर मेला रोक्न खोजिएको थियो, त्यो कारणलाई यथावत राखेर विवाद साम्य भएपछि आर्थिक लेनदेन भएर मौन बसेको भन्ने गाईँगुईँ सुन्न थालियो । सोध्दै, खोज्दै जाँदा लेनदेनको तथ्य प्रमाण पनि प्राप्त भएको छ ।

आकार, प्रकार, साइज साना–ठूला जे जस्ता भएपनि संस्थाको मान, प्रतिष्ठा उत्तिकै हुन्छ । यसरी संस्थाको मान, प्रतिष्ठालाई पैतालामुनि पार्ने काम गर्नु धेरै ठूलो भूल हो । यस्तो भूल आगामि दिनमा कसैले नगरोस् ।

प्रतिक्रिया दिनुहोस्