काम नगर्ने ठेकेदार देश विकासका ऐजेरु
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गोरखाले गोरखाको दुर्गम धार्चे र चुमनुब्री गाउँपालिकामा घरेलु सौर्य उर्जा जडान गर्ने योजना सञ्चालन गरेको छ । एकबर्षभित्र कार्य सम्पन्न गर्ने गरी २०७६ साल असोज २९ गते सो डिभिजन कार्यालय र निर्माण कम्पनी एम÷एस सुर्य रोशनी कन्स्ट्रक्सन इन्डस्ट्रियल प्रालि बीच सम्झौता भएको थियो । तर बर्ष बर्ष दिनमा म्याद थप गर्दै अहिलेसम्म कार्यक्रम लम्ब्याइरहेको छ ।
चार पटकसम्म म्याद थप हुँदा पनि अझै योजना सम्पन्न नहुनुले हाम्रो मुलुक बिगार्न कैयौं ठेकेदारले कसरी योगदान गरेका रहेछन् भन्ने प्रस्ट हुन्छ ।
योजना संचालन भएको चारबर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको उक्त योजनालाई सिचाइ डिभिजन कार्यालयले रुग्ण योजनाको सूचीमा राखेको छ ।
दुईवटा पालिकाका चारसय ६० घरधुरीमा घरेलु सौर्यउर्जा जडान घरेलु सौर्य उर्जा जडान गर्नका लागि भन्दै सम्झौता अनुसार २०७७ साल असार महिनामा काम सक्नुपर्ने भएपनि त्यसतया चारपटक म्याद थप भइसकेको छ । तर योजना अझै सम्पन्न भएको छैन । चौथो पटक म्याद थप गर्दै कार्यालयले २०८० साल पुस मसान्तभित्र काम सक्न समयसीमा तोकेको छ ।
चार पटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेको दुखद खबर गोरखाको मात्र होइन, यो ठेकेदारको देशव्यापी प्रवृत्ति हो । त्यसैले त्यस्ता मतिभ्रष्ट ठेकेदारलाई कडा कारबाहीको व्यवस्था हुनुपर्छ । काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने परम्परा थालनी गरियो भने आगामि दिनमा कुनै पनि ठेकेदारले काममा लापार्बाही गर्ने थिएनन् ।
तर ठेकेदारको मनोमानी, ठेक्का परेपछि कानमा तेल हालेर बस्ने प्रवृत्ति, मोबिलाइजेशन लिएर अन्यत्र काममा हात हाल्ने प्रवृत्ति मुलुक निर्माणका लागि घातक सावित भएको छ ।