| मङ्लबार, बैशाख ४, २०८१

आँबुखैरेनीमा तीनजना लागुऔषध कारोबारी पक्राउ

अवैध लागुऔषधको कारोबार नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले पछिल्लोपटक तीनजना कारोबारीलाई ठूलो परिमाणका लागुऔषधसहित पक्राउ गरेको छ । बर्षौदेखि लागुऔषध कारोबारको हबका रुपमा स्थापित हुदै गएको आँबुखैरेनीलाई लागुऔषधमुक्त क्षेत्र बनाउने अभियानमा लागेको प्रहरीले गत शुक्रबार एकै दिन फरक फरक ठाउँबाट तीनजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

आँबुखैरेनी गाउँपालिका वडा नं. ३ पानीघट्टा आसपास गस्तीमा खटिएको प्रहरी टोलीले आँबुखैरेनी २ ढकालटार निवासी २५ बर्षका भरत भनिने ओमबहादुर मगर र सोही ठाउँबस्ने १९ वर्षका रितेश थापालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नियन्त्रित लागु औषध डाइजेपाम दुई एमएलको नौ थान, फेनार्गन दुई एम्पुल, बुप्रेनोर्फिन २ एमएलको नौ एम्पुल गरी २७ थान एम्पुल र नेट्राभेट ४३ थान लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै आँबुखैरेनी २ ढकालटारमा लागुऔषधको खरिदबिक्री भइरहेको छ भन्ने सुराकी पाएर गएको प्रहरी टोलीले सोही ठाउँका जीवन भनिने गिरबहादुर मगरलाई लागु औषध बेच्दै गर्दा पक्राउ गरेको छ । उनले पुरानो नेपाल विद्युत प्राधिकरणको खालि घरको नजिक झाडीमा लुकाइछिपाइ राखेको लागु औषध खरिद बिक्री गरिरहेको अबस्थामा प्रहरी आएको देखेपछि साथमा रहेको झोला झाडीमा फाली भाग्ने प्रयास गरेका प्रहरीले जनाएको छ । उनलाई तत्काल लागुऔषधसहित नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय आबुँखैरेनीका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए ।

उनको साथबाट डाइजेपाम २ एमएलको एम्पुल १२१ थान, फेनार्गन १ एमएलको १२३ थान, बुप्रेनोर्फिन दुई एम्पुलको १२६ थान गरी ३७० थान र निट्राभेट तीनसय थान लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरलाई तनहूँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्