| सोमवार, बैशाख ३, २०८१

जिल्लामा खानेपानी आयोजना निर्माणको महाअभियान

पछिल्ला केही बर्षयता गोरखामा खानेपानी आयोजना निर्माणको कामले तिब्रता पाएको छ । के सुगम, के दुर्गम गाउँबस्तीमा खानेपानी आयोजना निर्माण भइरहेका छन् ।दक्षिणी भेगदेखि उत्तरी भेगसम्म साना, ठूला खानेपानी आयोजना निर्माण भइरहेका छन् । अति बिकट मानिएको चुम्चेत जस्तो गाउँमा पनि एकघर एकधारा कार्यक्रम सञ्चालित छ ।

हरेक नागरिकले सुरक्षित पानी पिउन पाउनु पर्छ भन्ने उद्देश्य राखी संघ सरकार, प्रदेश सरकार, पालिका सरकार तथा विभिन्न सामाजिक संघसंस्थाहरु खानेपानी आयोजना निर्माणमा जुटेका छन् । सबैको सामुहिक पहलमा अबको केही बर्षभित्र गोरखाका ७२ हजार घरधुरीमा खानेपानी योजनाका धारा जडान हुनेछ । अहिले ३० हजार भन्दा धेरै घरधुरीमा एकघर, एकधारा भइसकेको जिल्लास्थित खानेपानी डिभिजन कार्यालयले जनाएको छ । अभियान बर्षेनी तीब्र रुपमा चलिरहेकाले अबको केही बर्षभित्र बाँकी घरधुरीमा पनि जडान हुनेछ ।

विशेषगरी गोरखा नगरपालिका ३, ४, ५, ६, ७ र ८ लाई लक्षित गरी दरौँदी वृहत खानेपानी आयोजना सञ्चालन भएको छ । वडा नं. ९ का केही भूभाग, वडा नं. १०, ११ र १२ का केही भूभागलाई समेटेर बिरिमकाली वृहत खानेपानी आयोजना सञ्चालित छ । चुमनुब्री वृहत, धार्चे वृहत लगायत पालुङ्टार वृहत खानेपानी जस्ता ठूला खानेपानी आयोजनाका काम पनि धमाधम सञ्चालन भइरहेका छन् ।

सडक खन्नु, सडक ग्राभेल वा कालोपत्रे गर्नुलाई मात्र विकास भएको देख्ने अभ्यास भएको हामीमा अहिले खानेपानीको क्षेत्रमा भएको विकासले परिमार्जित छाप पारेको छ । अभियानमा कहीँ ठेस नलागोस्, सबैको साथ, सहयोग र समन्वयले खानेपानी योजना निर्माण सहज रुपमा सम्पन्न होउन् र जिल्लाबासी सबैले स्वस्थ र सुरक्षित खानेपानीको उपभोग गर्न पाउन् ।

प्रतिक्रिया दिनुहोस्