| सोमवार, बैशाख ३, २०८१

विद्यार्थीको काम यस्तै रचनात्मक होओस्

विद्यार्थीले आफै पढ्ने क्याम्पस बन्द गरे भन्ने समाचार पढ्दा जो कोहीको मन दुख्छ । फेरि विद्यार्थीले जेब्रा क्रस निर्माण गरे भन्ने समाचार पढ्दा जोकसैलाई गदगद बनाउँछ । विशेषगरी अनेरास्ववियूले केही दिनयता आँबुखैरेनी गोरखा सडकका विभिन्न ठाउँमा जेब्रा क्रस निर्माण गरेको छ । क्याम्पस, विद्यालय आउँदा, जाँदा सडक पार गर्ने ठाउँलाई सुरक्षित बनाउन उनीहरुले जेब्राक्रस बनाएका हुन् । सो सडकको करिब १० ठाउँमा जेब्राक्रस बनाउने अनेरास्ववियूको लक्ष्य छ ।

जुन स्कूल, क्याम्पसका विद्यार्थीको सुविधालाई लक्षित गरी जेब्रा क्रस बनाइएको छ, त्यही स्कूल, क्याम्पसका अनेरास्ववियू संवद्ध विद्यार्थीको साथ र सहयोग लिएर जेब्राक्रस बनाइएको अनेरास्ववियूले जनाएको छ । विद्यार्थी संगठन गठन भएको नै विद्यार्थीको हक, अधिकारको सुनिश्चित गर्न, उनीहरुलाई पठनपाठनमा सहज वातावरण निर्माण गर्नका लागि हो । शैक्षिक मुद्दामा स्कूल, क्याम्पस प्रशासन र आम विद्यार्थीका बीच पुलको काम गर्न पनि विद्यार्थी संगठन गठन भएका हुन्छन्, स्ववियू गठन भएका हुन्छन् । तर कतिपय अबस्थामा विद्यार्थी संगठनहरुले विद्यार्थीको हक, हितका पक्षमा भन्दा पनि विपक्षमा काम गरे जस्तो शंका गर्ने वातावरण बनाउँछन् । जेब्राक्रस बनाउने जस्तै रचनात्मक अरु कामहरु पनि छन्, जुन काम विद्यार्थी संगठनले गर्दा संगठनलाई पनि हित हुन्छ, आम विद्यार्थीहरुलाई पनि लाभ हुन्छ ।

जस्तो कि, स्कूल, कलेजमा अतिरिक्त सीप, दक्षता, क्षमता अभिवृद्धि हुने खालका कार्यक्रमहरु सञ्चालन गर्ने, स्कूल, कलेजले आयोजना गरेका कार्यक्रम भव्यतापूर्वक सफल पार्न सहायक बनेर काम गर्ने कर्तव्य पनि विद्यार्थी संगठनहरुको हो । विद्यार्थीको ढाड सेक्ने गरी अनाधिकृत रुपमा शुल्क वृद्धि गरे भने प्रश्नचिन्ह खडा गर्ने, पुनर्विचार गर्न लगाउने, विद्यालयभित्र शैक्षिक गतिविधिबाहेक अवाञ्छित गतिविधिले प्रवेश पायो भने क्याम्पस प्रशासनसंग सहकार्य गरी रोकथाम गर्नु, सयौ, हजारौँ विद्यार्थीको पढ्न पाउने हक अधिकारको सुनिश्चित गर्नु पनि विद्यार्थी संगठनहरुको दायित्व हो । पठनपाठनमा आँच आउने कामबाहेक शैक्षिक क्रियाकलापमा सघाउने रचनात्मक काम विद्यार्थी संगठन, स्ववियूहरुको हो ।

प्रतिक्रिया दिनुहोस्