| शुक्रबार, माघ ४, २०८१

भीमकुल सहकारीको चोर चाँडो पत्ता लगाऔ

बाबुराम भट्टराई प्रधानमन्त्री छँदा ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने अवधारणा विकास गरेका थिए । यसको अर्थ सहकारीले सहकार्य गर्ने वातावरण बनाउँछ । साथै धेरथोर नियमित रकम संकलन गरी एकमुष्ठ ठूलो धनराशी बन्छ जसले जो कसैलाई गाह्रोसाह्रो पर्दा प्रयोग गर्न काम लाग्छ भन्ने हुन्छ ।

एउटा व्यक्ति मात्र खटेर केही ठूला काम गर्न सक्दैन, तर यदि धेरैजना मिलेर त्यही काम ग¥यो भने त्यो सम्पन्न गर्न सजिलो हुन्छ । एकतामा बल हुन्छ भनेझै एकएक जनाले गरेको कामको वजन कम हुन्छ, त्यही काम धेरैजना एकजुट भएर गरियो भने कम शक्ति खर्चेर पनि, कम समयमा, सजिलैसंग ठूलो काम बन्न सक्छ । सहकारी गाउँघरको अत्यन्त आवश्यक वित्तीय संस्था हो ।

गाउँघरका मान्छे, जसलाई तत्कालका तत्काल धेरथोर पैसा चाहियो भने सहकारीमा जम्मा गरेको पैसाले काम टार्छ । वैंकबाट रकम झिक्न विभिन्न झमेला आइलाग्ने हुँदा गाउँघरका अनपढ, निरिह नागरिकले वैंकबाट सेवा सुविधा पाउन सजिलो छैन । यो अवस्थामा सर्वसाधारणलाई सहकारी धेरै उपयोगी हुन्छ । त्यति मात्र होइन, सरकारले किसानलाई सहयोग गर्नुप¥यो भने सहकारीमार्फत नै गर्ने गर्छ । त्यसैले यो सहकारी अति आवश्यक छ ।

तर अचेल सहकारीको रकम हिनामिना बनाएर सर्वसाधारणलाई हैरान पर्ने प्रचलन बढेको छ । भीमसेन थापा गाउँपालिका ८ बोर्लाङस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्था गोरखा जिल्लाकै सबैभन्दा ठूलो सहकारीमा पर्छ । सो सहकारीले यसअघि पनि विभिन्न समयमा विभिन्न निकायबाट उत्कृष्टताको पुरस्कार, पदक प्राप्त गर्ने गरेको हो ।

सोही सहकारीबाट अज्ञात आपराधिक गिरोहले वैँक फुटाएर ठूलो परिमाणको रकम चोरी गरेको छ । चोरी गरेको दुईबर्ष बितिसक्यो,तर अझै चोर पत्ता लगाउन सकिएको छैन । कुन हतकण्डा अपनाएर हुन्छ, भीमकुल सहकारीको रकम चोरी गर्नेलाई यथासक्य छिटो पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्