तीजलाई बद्नाम हुनुबाट महिलाले नै जोगाउनू
हिन्दूहरुको महान पर्व दशैं घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मानिन्छ । त्योभन्दा एकदिन अघि पनि मनाइँदैन, एकदिन पछि पनि मनाइँदैन । दोस्रो ठूलो चाड तिहार पञ्चक लागेदेखि पाँचदिनसम्म मनाइन्छ । एकदिन अघि वा पछि मनाइन्न । फागु पुर्णिमा पनि अघिल्लो दिनसम्म पनि मनाइन्न, भोलिपल्ट पनि मनाइन्न । चैते दशैं त झन खासै भव्यताका साथ मनाउने चलन पनि हराउँदै गयो ।
इशाइहरुले पनि सबैभन्दा ठूलो चाड क्रिसमस त्यही एकदिन मात्र भव्यताका साथ मनाउँछन् । इस्लाम धर्मावम्बीहरुले आफ्नो ठूलो पर्व इद निर्धारित समयभन्दा एकदिन यता उता मनाउँदैनन् । तमु ल्होसार नै पनि पुसको १४ गते पनि मनाइँदैन, १६ गते पनि मनाइँदैन । मगर समुदायले पनि माघी पर्व एकदिन पनि यताउता गरेर मनाउँदैनन् । सोनाम ल्होसार, ग्याल्बो ल्होसार पनि तोकिएकै दिनमा मनाइन्छ ।
तीज मात्र एउटा यस्तो चाड बनेको छ, जुन मुख्य दिन आउनु कहिले कहिले एक महिनाअघिदेखि भोजभतेर खाएर चौपट हुन्छ । हिन्दू महिलाले धार्मिक, सांस्कृतिक रुपमा भव्यतापूर्वक मनाउने सो चाड एक महिनादेखि भोज खाने चाडका रुपमा बद्नाम भएको छ । बद्नाम हुनुमा केही कारणहरु छन्, पहिलो हो, चाडै नआई भोजभतेर हुन्छ । दोस्रो बिकृति हो दरका नाउँमा मादक पदार्थ सेवन । खास दर भनेको अति पवित्र हुन्छ । भोलिपल्ट निराहार, निर्जल ब्रत बसेर पूजाआजा गर्ने हुँदा माछामासु, मदिराको संसर्गै गर्ने चलन छैन, तर दरको नाउँमा माछामासु, मदिरा खाएर ‘दर’को बद्नाम गरिरहेको पाइन्छ । बद्नाम हुनुको तेस्रो कारण नाचमा अस्लिलता हो । तीज गीतको सांस्कृतिक महत्व धेरै नै गहन छ । तर मदिराको सुर, तालमा रत्यौलीभन्दा पनि अश्लिलता प्रदर्शन गर्दै नाचेर बद्नाम गर्ने काम भएको छ ।
यसको पवित्रतामाथि संवेदनशील बनेर महिला स्वयंले यसको अस्तित्व जोगाउनु पर्छ ।