सरकारी काममा ढिलासुस्ती, निजी काममा तीब्रता
जुनकुनै काम सरकारी भए ढिलासुस्ती, निजी भए तिब्रातितिब्र हुने गरेको देख्ने साक्षी हामी जो कोही छौँ । हरेक उदाहरणमा यही घटना देख्दा नेपालका सरकारी कामको प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने पो हो कि भन्ने देखिन्छ ।
निजी क्षेत्रको कामले किन गति लिन्छ ? यसको उत्तर संकलन गरौँ । सरकारी कामले किन गति लिँदैन ? यसको पनि उत्तर संकलन गरौँ र पर्याप्त विचार विश्लेषण गरौँ, समीक्षा, विवेचना गरौँ । त्यसको निश्कर्ष कस्तो आउँछ ? अध्ययन गरौँ । अनि विधि प्रक्रिया सच्याउनु, परिमार्जन, संशोधन गर्नुपर्ने भए गरौँ । अन्यथा सरकारी कामको ढिलासुस्तीले सरकारी निकायकै लज्जाजनक भयो ।
एउटा टड्कारो उदाहरण हामीसामु अहिले पनि छ, गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बन्ने भनेको पुल । यहाँ डाक्टर बाबुराम भट्टराईले २०७१ साल असार २० मा पुलको सिलान्यास गरेका थिए । पप्पुले जिम्मेवारी पाएको सो पुल १० बर्षसम्म बनेको छैन ।
तर चार महिनाअघि सोही ठाउँमा निर्माण सुरु गरेको बेलिब्रिजको वुधवार उद्घाटन गरियो । गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले बनाएको उक्त पुल चार महिनामा तयार भएको हो । सरकारी निकायको काम १० बर्षमा पूरा हुँदा जम्मा १७ प्रतिशत मात्र ? जबकि, सोही ठाउँमा चार महिनाभित्रै बेलिब्रिज बन्यो । सो बेलिब्रिज १६ करोड १४ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको थियो ।
बुटारमा निर्माणाधिन सुपर त्रिशुली जलबिद्युत आयोजनाको सामाग्री ढुवानी गर्न सहज होओस् भन्दै १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको हो ।
सरकारी निकायले पनि निजी क्षेत्रले कसरी काम गराएको हुन्छ भन्ने अध्ययन, अबलोकन गरी त्यस्तै बाटो पन्छ्याउनु पर्छ । अघि गाउँमा पूर्वाधार विकास हुन्छ ।