| शुक्रबार, माघ ४, २०८१

अजिरकोटको अलैंचीजस्तो नहोओस् बारपाक सुलिकोटको कफी

अजीरकोट गाउँपालिकाको विशेषगरी लप्सीबोट, खरिबोट क्षेत्र, सिरानचोक गाउँपालिकाको केराबारी, थालाजुङ क्षेत्रमा तीस बर्षअघिदेखि अलैँची खेती गरिन्थ्यो । त्यहाँका बासिन्दाले अलैंचीबाट धेरै राम्रो आम्दानी पनि गर्दै आएका थिए ।
राम्रो कमाइ हुने हुँदा उनीहरु अलैंचीलाई ‘कालो हिरा’ उपनाम दिन्थे । बारी, पाखा पखेरा, खोल्साखोल्सी मात्र होइन, धानखेती मासेर खेतमा पनि अलैंची खेती गर्थे ।

तर केही बर्षयता सो क्षेत्रमा अलैंची उत्पादन हुन छाडेको छ । केही बर्षअघि अलैंचीमा रोग लाग्न थाल्यो । रोगको निदान हुन सकेन । सबै अलैंची फाँडेर माटोलाई उपचार गरी फेरिदेखि नयाँ अलैँची खेती सुरु गर्नुपर्ने प्राविधिकको सुझाव थियो । तर अधिकांश युवाहरु वैदेशिक रोजगारीमा गएका कारण गाउँमा युवा जनशक्तिको अभाव हुन थाल्यो । भएका केही परिबार पनि चितवन, काठमाडौंतिर बसाइँ सराइ गरे । यसरी गाउँबस्ती रित्तिदै गएको अबस्था त्यहाँ छ ।

बचेखुचेका जनशक्ति पनि वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्समा निर्भर हुन थाले । अलैंची खेतीमा तनमनधन दिन छाडे । ३० बर्षअघि धानखेती मासेर लगाएको अलैंची अहिले अलैंची मासेर धानखेतीमै फर्कन थालेका छन् ।
अहिले बारपाक सुलिकोटमा व्यक्तिगत, समूहगत, संस्थागत र पालिकागत समन्वय र सहकार्यमा व्यवसायिक कफीखेती सुरु भएको छ ।

व्यवसायिक कफीखेतीका लागि फ्रेस्को हिमालय प्रालि, स्थानीय कृषक समूह, गाउँपालिका र एकीकरण नेपाल बीच कफी खेतीका विविध विषयमा दस वर्षको लागि सम्झौता भएको छ । उत्पादित कफी फ्रेस्को हिमालयले तोकिएको मूल्यमा खरिद गरी पैसा १५ दिनभित्रमा कृषकको खातामा राखिदिने, उत्पादित कफी समयमा खरिद नभएको खण्डमा त्यस बापतको रकम भुक्तानी दिने सम्झौतामा उल्लेख छ ।

उत्पादित कफी सुकाएर मात्रै बिक्री गर्नुपर्ने, खरिद गरेको कफी प्याकिङ गरी बजारिकरण गर्दा गाउँपालिका र एकिकरण नेपालको साझेदारी हुनुपर्ने जस्ता बुँदा छन् ।यो सुखद पक्ष हो तर, यो खुशी अजिरकोटको अलैंचीको अबस्थामा नपुगोस् । कफीखेती दीगो होओस् ।

प्रतिक्रिया दिनुहोस्