किसानलाई बाँदरले सताएको कुरा बाबुरामले संसदमा उठाउने
दरौँदी ः बुधबार देखि आफ्नो निर्वाचन क्षेत्रमा जनभेटघाटमा ब्यस्त रहेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले विकास निर्माणसँगै किसानका गुनासोहरु सुनिरहेका छन् । बुधबार जिल्लाको सिरान्चोक गाउँपालिकाको केराबारीमा बास बसेका भट्टराईको विहीबारको बास भने अजिरकोट गाउँपालिकाको घ्याच्चोकमा हुने उनका स्वकिय सचिब रोशन पोखरेलले जानकारी दिए ।
हरेक महिना जिल्ला आउने कार्यक्रम अनुरुप उनी अहिले जनभेटघाटमा ब्यस्त छन् । सोही कार्यक्रम अन्तरगत भट्टराईले अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकमा जनप्रतिनिधीहरु सँग पनि छलफल गरे । छलफलमा सबै भन्दा धेरै बाँदरले किसानलाई दुख दिएको विषय उठेको पोखरेलले बताए ।
‘हेर्नुस् डक्टरसाप गाउँमा प्राय सबैले खेतीपाती गरेकै छन्, भित्राउनी बेला हुन्छ बाँदरले सखाप पार्न थाल्यो’ अजिरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले भने ‘अहिले मकै, आलु, गहुँ, धान मात्रै खान्थ्यो अहिले त अलैँची पनि खान थाल्यो ।’ गोरखा जिल्लामा अजिरकोट गाउँपालिका अलैँची खेतीको पकेट क्षेत्र समेत हो । लगत्तै गाउँपालिकाकी उपप्रमुख चन्द्रमायाँ गुरुङले गुनासो राखिन् ‘अरु सबैको उपाय निस्कियो, यो बाँदर लखेट्ने उपाय पत्ता लगाउन सकेनौँ ।’ वडा नम्बर ३ का अध्यक्ष तयाराज गुरुङले अदुवा र बेसार बाहेक सबै खेतीमा बाँदर पल्केर सताएको बताए ।
सबैले गुनासो राखिसकेपछि भट्टराईले भने ‘सुन्दा हाँसो लाग्दो विषय छ । जाबो बाँदरको कुरा के ग¥या होला जस्तो लाग्ने तर, यो कुरा हाम्रा पौरखी किसानसँग जोडिएकोले यस बारे म संसदमै कुरा राख्छु । कसरी नियन्त्रण गर्न सकिने रहेछ छलफल चलाउँछु ।’
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईसँग जनप्रतिनिधीहरुले भच्चेकमा अस्पताल, प्रहरी निरिक्षकको दरबन्दी रहने गरी इलाका प्रहरी कार्यालय लगायत विकास निर्माणको विषयमा छलफल गरेको गाउँपालिकाकाले जनाएको छ ।