| बुधबार, फाल्गुन १९, २०७७

लिगलिगे साईकल दौडको उपाधी लक्ष्मण मल्ललाई

प्रसिद्ध ऐतिहासिक लिगलिगकोटमा शुक्रवार सम्पन्न खुल्ला लिगलिगे साईकल दौडको उपाधी लक्ष्मण मल्लले जितेका छन् ।

५२.९ किलोमिटर दुरी दुई घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै एपिएफका मल्ल बिजयी बनेका हुन् ।
६२ जना पुरुष र १६ जना महिला सहभागी साईकल दौडमा हिमाल टमटा दोस्रो भए । उनले निर्धारित दुरी दुई घण्टा ३१ मिनेट र तेस्रो हुने वकेसराज ब्रजाचार्यले दुई घण्टा ३६ मिनेटमा दुरी पूरा गरेका थिए ।
प्रतियोगितामा महिला तर्फ दुई घण्टा ५६ मिनेटमा निर्धारित दुरी पार गर्दै एपिएफकी सोनी गुरुङ पहिलो बनिन् । तीन घण्टा दुई मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै लक्ष्मी मगर दोस्रो र तेस्रो हुने उषा खनालले तीन घण्टा ९ मिनेट ३० सेकेण्डमा निर्धारित दुरि पुरा गरेकी थिइन् ।
प्रतियोगिताका बिजेताहरुलाई नगद २५, २०, १५ हजारका दरले पुरस्कृत गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष सञ्जिब राना मगरले बताए ।

लिगलिगकोटबाट सुरु भएको साईकल दौड पालुङटार नगरपालिकाको बिभिन्न ठाउँ, सिरानचोक गाउँपालिका र लमजुङको राईनास नगरपालिका हुँदै पुन लिगलिगकोटमा आएर सकिएको थियो । ‘यी ठाउँलाई जोड्ने गरी साईकल ट्रेलको बिकास गर्न लिगलिगे साईकल दौड आयोजना गरेका हौँ’ आयोजक लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष राना मगरले भने ।
दौडमा बिजेतालाई पुरस्कार बितरण गर्दै पालुङटार नगरपालिकाका नगरप्रमुख दीपकबाबु कँडेलले नगरक्षेत्र र लिगलिगकोटको प्रचार प्रसारमा साईकल दौडले ठूलो मद्दत पुगेको बताए । ‘स्पोटर्स टुरिजमको बिकास गर्न हामीले यस्ता खालका ‘इभेन्ट’ पनि संचालन गरेका हौँ’ उनले भने ।
प्रतियोगिताका लागि पालुङटार नगरपालिकाले पाँच लाख, नेपाल पर्यटन बोर्डले १० लाख रुपैयाँ सहयोग गरेका थिए ।

अन्य सहयोग बिभिन्न ब्यक्ति र संस्थाबाट लिइएको आयोजकले जनाएको छ । यस वर्षदेखि सुरु भएको लिगलिगे साईकल दौड हरेक वर्ष प्रजातन्त्र दिबसको अवसर पारेर फागुन ७ गते गर्ने घोषणा समेत लिगलिग भिलेज स्पोटर्सले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्