| शनिबार, बैशाख ८, २०८१

ओसन क्लवको आर्टिफिसियल टर्फ निर्माणमा ३५ लाख खर्च, अझै २० लाख अपुग, आठलाख ऋणमा,

गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवले आर्टिफिसियल टर्फ निर्माण गर्दा ३५ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । शनिबार पत्रकार सम्मेलन गरी क्लवका अध्यक्ष अमित खत्रीले टर्फ निर्माण गर्नका लागि अझै २० लाख रुपैयाँ अपुग रहेको जानकारी गराए ।
‘३५ लाख मध्ये करिब २६ लाख मात्रै जुटेको छ’ अध्यक्ष खत्रीले भने, ‘आठलाख रुपैयाँ ऋणमा जुटाइएको थियो । अझै २० लाख रुपैयाँ बराबरको संरचना निर्माण गर्न बाँकी नै छ ।’


गोरखा नगरपालिकाबाट ११ लाख ४६ हजार, गण्डकी प्रदेश संसद कोषबाट सात लाख ८ हजार र बिभिन्न ब्यक्ति र संघ संस्थाबाट ८ लाख १२ हजार रुपैयाँ सहयोग जुटेको उनले बताए । ‘अहिले सम्म भएको कामको करिब ८ लाख ऋण तिर्न बाँकी छ’ अध्यक्ष खत्रीले भने । टर्फको बाहिरी संरचना शौचालय, चेन्जिङ रुम निर्माण गर्न अझै २० लाख लाग्ने अनुमान गरिएको उनले बताए ।
टर्फको मैदानका लागि २३ लाख, संरचना तयार गर्न, ढुवानी, निर्माण ज्याला र खरिदमा अन्य रकम खर्च भएको क्लवले शनिवार सार्वजनिक गरेको हो । अखिल नेपाल फुटबल संघबाट एक लाख ५० हजार, पालुङटार नगरपालिकाबाट एक लाख ५० हजार र गोरखा समाजबाट २५ हजार आउने आश्वासन पाएको तर आउन बाँकी रहेको क्लवले जनाएको छ । ‘यो रकम जुट्यो भने करिब पाँच लाख अहिले सम्म भएको कामको खर्च तिर्न बाँकी देखिन्छ’ अध्यक्ष खत्रीले भने ‘यस बाहेकका अन्य सबै कामका लागि थप खर्च लाग्नेछ ।


अहिले क्लवले निर्माण गरेको आर्टिफिसियल मैदानमा बिभिन्न समयमा प्रतियोगिता, प्रशिक्षण हुँदै आएको छ । ‘जिल्लाभरका खेलाडीलाई प्रशिक्षण दिएर ब्यवशायीक खेलाडी तयार गर्ने लक्ष्य लिएका छौँ’ अध्यक्ष खत्रीले भने ‘निर्माण पुरा गर्न सबै स्थानीय तह सँग सहयोगको अपेक्षा गरेका थियौँ, तर जुटेको छैन ।’

प्रतिक्रिया दिनुहोस्