
आईपीएल खेलेर सन्दीप लामिछाने स्वदेश फिर्ता
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । सन्दीप मंगलबार अपरान्ह स्वदेश फर्किएका हुन् । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप जेट एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । आईपीएलको यो सिजन दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप गत मार्च २७ मा भारत गएका थिए ।
दिल्लीको टोलीबाट सुरुवाती खेल खेल्न नपाएको सन्दीपले अन्तिम ३ खेल खेलेका थिए । तर, लेग स्पिनर सन्दीपले खेलेका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए ।
त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए ।
आईपीएलको अक्सनबाट २० लाख भारुमा दिल्लीमा आबद्द भएका सन्दीपलाई दिल्लीले प्ले अफमा पुग्न असफल भएपछि मौका दिएको थियो । दिल्ली यो सिजन समूह चरणको खेलमा पुछारमा रहदै प्ले अफ पुग्न सफल भएको थियो ।
१७ बर्षीय सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् । सन्दीपले आगामी सिजन पनि दिल्लीबाट खेल्न सक्ने बताईएको छ ।