| सोमवार, फाल्गुन २१, २०८०

चुमनुब्रीको केन्द्र फिलिम नजिकै मोटर पुग्यो, गण्डकीमा पुल निर्माणको तयारी

सडक सञ्जालले नजोडेको र पालिकाको केन्द्रसम्म मोटर नपुगेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम नजिकै मोटर पुगेको छ । पालिकाको केन्द्र फिलिमभन्दा पारिको नाक्चेत गाउँ सम्म मोटरबाटो पुगेको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष निमा लामा र नेपाली सेनाको यहाँस्थित सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद पाण्डेले सो सडकखण्ड अनौपचारिक रुपमा शुभारम्भ गरेका छन् ।

गाउँपालिकाको केन्द्र नजिकै मोटरबाटो आइपुग्दा स्थानीयहरु धेरै खुुसी भएका पालिकाका अध्यक्ष निमा लामाले बताए । ‘दुर्गमको पालिकाको केन्द्र नजिकैसम्म पहिलो पटक मोटर बाटो आइपुग्यो, यसले उत्तरी गोरखाका बासिन्दाहरु आउजाउसँगै खाद्यान्न सामग्री ढुवानी गर्नलाई पनि धेरै सहज हुन्छ’, उनले भने । बेनिघाट–रुइला भज्याङ नाकाको सडकखण्ड अन्तरगत नाक्चेतसम्म मोटरबाटो आइपुगेको हो । अव सो सडकखण्डामा साना सवारी साधनहरु चलाउन सकिने उनले बताए । हाल मोटरसाइक र जीप संचालन भइरहेको अध्यक्ष लामाले बताए ।

अहिले मोटरगाडी पुगेको नाक्चेतबाट पारिपट्टि पर्ने गाउँपालिकाको केन्द्र सम्म हिडेर आउदा आधा घण्टा लाग्ने उनले बताए । नाक्चेतबाट पालिका सम्म मोटरबाटो जोडन भने मोटररेबल पुल निर्माण गर्नुपर्ने र त्यसका लागि माथिल्लो निकायमा पहल भइरहेको उनले जानकारी दिए । त्यस्तै, अहिले धार्चे गाउँपालिका केन्द्रबाट नाक्चेतसम्म जीप भाडा रु सात सय रुपैया तोकिएका जनाएको छ ।

यसअघि जगतसम्म मोटरबाटो पुगिसकेको थियो । जगतबाट गाउँपालिकाको केन्द्रसम्म हिडेर जान दुई घण्टा लाग्ने गरेको थियो । अव भने दुई घण्टाको बाटो छोटिएर गाडीमा आधा घण्टामा पुगिने भएको छ ।

हाल नेपाली सेनाले बेनिघाट–रुइला भज्याङ नाकाको सडकखण्ड खोल्ने काम गरिरहेको छ । उक्त सडकखण्ड अन्तरगत असार मसान्तसम्ममा चुमनुबीको पाङसिङ गाउँसम्म सडक पुग्ने पालिका अध्यक्ष लामाले बताए । सो क्षेत्रमा धेरै कडा चट्टान भएकाले केहि बढि समय लाग्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्