| बुधबार, अशोज १७, २०८०

भच्चेक प्रहरीचौकीद्वारा तीन ट्रक काठ बरामद


प्रहरी चौकी भच्चेकले तीन ट्रक काठ बरामद गरेको छ । अजीरकोट गाउँपालिका ५ काभ्रेमा तीन ट्रक उतिसको काठ भच्चेक प्रहरी चौकीले बरामद गरेको वडाअध्यक्ष बिर्ख गुरुङले जानकारी दिए ।


मंगलबार साँझ सात बजेतिर काठ बरामद गरेको वडाअध्यक्ष गुरुङले बताए । सो काठ नीजि जग्गाको रहेको उनले बताए ।
‘मैले त्यहाँ अवैध रुपमा काठ काटिँदैछ भन्ने कुरा तीनचार दिनदेखि गाइँगुइँ सुनेको थिएँ । हिजो गाडी ल्याएर लोड गर्न लागेको सूचना पाएँ’, वडाअध्यक्ष गुरुङले भने, ‘त्यसपछि म त्यहाँ गएर कागजपत्र छ कि छैन भनेर सोधेँ । मुख्य ठेकेदार थिएनन् । कामदारहरुले केही पनि कागजात देखाउन सकेनन् । त्यसपछि भच्चेक प्रहरी चौकीमा फोन गरेँ । उहाँहरु आएर काठ बरामद गरी गाडीको लाइसेन्स, बिलबुक लिएर जानुभएको छ । अहिलेसम्म काठ जंगलमै छ ।’

यसअघि कटान गर्नुपर्ने रुख रहेको जग्गाको कित्ता नंबर समेत खुलाएर वडाको सिफारिस लिने गरेकामा यसपटक वडाको सिफारिस समेत नलिई रुख कटान गरेको उनले बताए ।


काठ बरामद गरेको २४ घण्टा बितिसक्दा पनि प्रहरी चौकीले इलाका प्रहरी कार्यालय जौबारी तथा जिल्ला प्रहरी कार्यालय गोरखालाई जानकारी गराएका छैन । साथै डिभिजन वन कार्यालय गोरखालाई जानकारी गराएको छैन ।
काठ बरामद भएको बिषयमा आफूलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठ एवं, इप्रका जौबारीका इञ्चार्ज इन्स्पेक्टर सर्विन घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्