गोरखा नगरपालिका स्तरीय यु–१३ अन्तर विद्यालय लिग प्रतियोगिता अन्तरगत शनिबार पाँच खेल सम्पन्न
गोरखा नगरपालिका वडा नं ९ दलभज्याङस्थित द ओसन क्लबको कृत्रिम घाँसे मैदानमा जारी १३ वर्ष मुनिका विद्यालय लिग फुटबल प्रतियोगितामा शनिबार पाँच खेल सम्पन्न भएका छन् ।
द ओसन क्लबको आयोजनामा ‘गोरखा मेयर युवा फुटबल विकास परियोजना’ अन्तर्गत ‘गोरखाको गौरव गोरखाको शान युवा फुटबल बिकास हाम्रो अभियान’ भन्ने मुल नाराका साथ संचालन भइरहेको नवौं ओसन कप यु–१३ अन्तर विद्यालय लिग २०८० अन्तर्गत तेस्रो हप्ताको ५ खेल सम्पन्न भएको जनाएको छ ।
शनिबार भएको प्रतियोगितामा द ओल्ड क्यापिटल मा वि, महालक्ष्मी मा वि, लक्ष्मी सामुदायिक शिक्षा सदन र द ओसन क्लब विजयी भएका छन् ।
प्रतियोगितामा द ओल्ड क्यापिटलले रत्न राज्य माविलाई, महालक्ष्मी माविले मोर्डन सेकेण्डरी इग्लिस बोर्डिङलाई र लक्ष्मी सामुदायिक शिक्षा सदनले रत्नलक्ष्मी माविलाई पराजित गरेको हो । त्यस्तै, द ओसन क्लवले सरस्वती माविलाई पराजित गरे भने सुर्यमुखी बोर्डिङ स्कुल र नवज्योति मावि भने बराबरीमा रोकिएका छन् । प्रतियोगिताको चौथो हप्ताको खेल २०८० मंसिर ९ गते सन्चालन हुने क्लवले जनाएको छ ।
प्रतियोगितामा गोरखा नगरपालिका भित्रका ९ विद्यालय र आयोजक सहित १० टिमको सहभागिता रहेको छ ।
सो प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार पाँचसय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई तीनहजार पाँचसय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्लेट फाईनल जित्न सफल हुने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै सहभागी विद्यालयलाई म्याच मनी स्वरुप प्रतिखेल रु एकहजार पाँच सय प्रदान गरिने द ओसन क्लवले जनाएको छ ।